भारतीय विदेश मन्त्रालयले अर्को विज्ञप्ती निकाल्दै गर्‍यो आफ्नै खण्डन

बुधबार, ६ असोज। भारतले नेपालको संविधान संशोधनका लागि ७ बुँदे लिखित प्रस्ताव पेश गरेको सञ्चारमाध्यमहरुमा सार्वजनिक भएपछि त्यसको खण्डन गरेको छ ।
भारतीय विदेश मन्त्रालयले विज्ञप्ती जारी गर्दै भारत सरकारले नेपालको संविधान संशोधन गर्न कुनै बुँदा पेश नगरेको स्पष्ट पारेको हो ।
भारतबाट प्रकाशित हुने दैनिक पत्रिका ‘इन्डियन एक्सप्रेस’ को बुधबारको अंकमा भारतले नेपालको संविधानमा संशोधन गर्नका लागि राखेका सात बुँदा भन्दै प्रमुख समाचार छापिएको थियो ।
सोही विषयलाई लिएर नेपाली सञ्चारमाध्यमहरुले पनि समाचार प्रकाशन तथा प्रसारण गरेपछि भारतीय विदेश मन्त्रालयले बुधबार साँझ विज्ञप्ति जारी गर्दै समाचारमा कुनै सत्यता नभएको स्पष्ट पारेको हो ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा, ‘भारत हिंसामुक्त वातावरणमा संवादमार्फत् नेपालमा संविधानबारे उठेका समस्याको समाधान भएको हेर्न चाहन्छ,’ भनिएको छ ।
भारतले पछिल्लो समयमा नेपालको आन्तरिक मामलामा गरेको ठाडो हस्तक्षेपपछि सबैतिरबाट चर्को विरोध हुनुका साथै निकृष्ठ कूटनीतिक सीमा नाघेको आरोप लागेपछि भारत पछि हटेको हो ।

Previous
Next Post »