नयाँ युगको शुभारम्भ

काठमाडौं, ३ असोज संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान जारी भएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
जनताबाट निर्वाचित संस्थाले चुनेका राष्ट्रपति डा. रामवरण यादवले ‘नेपालको संविधान’ जारी गरेका हुन् । संविधानसभा भवन नयाँ बानेश्वरमा आइतबार बसेको संविधानसभाको १३५औँ (अन्तिम) बैठकबाट राष्ट्रपति यादवले संविधान जारी भएसँगै लागू भएको घोषणा गरेका छन् ।
राष्ट्रपतिको घोषणासँगै ०६३ माघ १ गतेदेखि लागू भएको ‘अन्तरिम संविधान’ खारेज भएको छ । नयाँ संविधानको धारा ३ सय ८ को व्यवस्थाअनुसार अन्तरिम संविधान खारेज भएको हो । संविधान घोषणा समारोहमा राष्ट्रपति यादवले संविधानसभाले नेपाली कागजमा मुद्रण गरेको पाँच प्रति संविधानमा हस्ताक्षर गरेर घोषणा गरेका थिए । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले उपलब्ध गराएका संविधानका प्रतिमा ढोगेर हस्ताक्षर गर्दै राष्ट्रपति कार्यालयको छापसमेत लगाइसकेपछि उनले जारी गरेका हुन् ।
त्यसअघि राष्ट्रपति यादवले ‘संविधानसभाबाट पारित एवं संविधानसभाका अध्यक्षद्वारा प्रमाणित भई प्रस्तुत नेपालको संविधान असोज ३ गतेदेखि प्रारम्भ भएको नेपाली जनतासमक्ष घोषणा गर्दछु’ भन्ने विवरण पढेर सुनाएका थिए । राष्ट्रपतिले संविधान जारी भएको घोषणा गर्दा सभासद् मात्रै होइन, समारोहमा निम्त्याइएको अतिथिहरूले समेत झन्डै एक मिनेट लामो तालीका गडगडाहटले अनुमोदन गरेका थिए । तीन सय ५० पृष्ठको नयाँ संविधानमा ३५ भाग, तीन सय आठ धारा र नौ अनुसूची छन् ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, सात प्रदेशसहितको संघीय संरचना, सार्वभौमसत्ता तथा राजकीयसत्ता जनतामा निहित हुने, समानुपातिक समावेशी व्यवस्थाजस्ता विषय संविधानका मुख्य विशेषता हुन् । ०७० माघ ८ गतेबाट दोस्रो संविधानसभाको बैठक सुरु भएको थियो । त्य
सयता ६ सय सात दिनको अवधिमा एक सय ३० दिनमा बसेका एक सय ३५ बैठकले नयाँ संविधान बनाएको हो । राष्ट्रपति यादवले संविधान जारी भएको घोषणा गरेपछि आइतबारै बसेको मन्त्रिपरिषद् बैठकले तयार गरेर दिएको एक पेज लामो मन्तव्य राखेका थिए ।
नेपाली जनताले झन्डै सात दशकअघि सुरु गरेको अथक लोकतान्त्रिक आन्दोलन र दिगो शान्तिको पक्षमा प्रकट भएको जनताको चाहनाले मूर्त रूप दिएको उनको भनाइ थियो । ‘यस संविधानको घोषणासँगै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएको छ,’ उनले भने, ‘संविधानको घोषणासँगै देश दिगो शान्तिको बाटोमा अघि बढ्ने विश्वास छ ।’ नयाँ संविधानले सबै क्षेत्र र समुदायका जनताको आकांक्षा र अधिकारलाई समान ढंगले संरक्षण गर्ने उनले विश्वास व्यक्त गरे ।
‘हिमाल, पहाड, तराई, मधेसका जनतालाई सहकार्य र मेलमिलापका साथ प्राप्त उपलब्धि संघीयतासहितको लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थासहितको संविधान कार्यान्वयन गरेर अघि बढ्न आह्वान गर्दछु,’ उनले भने, ‘जनतामा निहित सार्वभौमसत्ताको रक्षा गर्न हामी सबै एक हुनुपर्छ ।’
संविधानसभाको बैठकमा झन्डै १५ मिनेटको अन्तिम मन्तव्य दिएका सभामुख नेम्वाङले नयाँ संविधानले भावी नेपालको रूपरेखा कोरेको बताए । 
Previous
Next Post »