नयाँ प्रधानसेनापति क्षेत्रीले पाए दज्र्यानी चिह्न


राष्ट्रपति डा.रामवरण यादवले प्रधान सेनापतिमा नियुक्त भएका रथी राजेन्द्र क्षत्रीलाई आज नेपाली सेनाको महारथीको दज्र्यानी चिह्न प्रदान गरेका छन्। 
 
राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति यादवले नवनियुक्त प्रधानसेनापति क्षत्रीलाई महारथीको फुली (दज्र्यानी चिह्न) लगाइदिएका हुन्। 
 
 प्रधानसेनापति क्षत्रीले राष्ट्रपतिसँग पद तथा गोपनीयताको शपथ समेत लिएका छन्।
 
मन्त्रिपरिषद्को गत साउन २८ गतेको बैठकले उनलाई आजै (भदौ २४) देखि लागू हुनेगरी प्रधानसेनापति पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । 
 
समारोहमा उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री एवम् रक्षामन्त्री सुशील कोइराला, प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, परराष्ट्रमन्त्री मन्त्री महेन्द्रबहादुर पाण्डे, संवैधानिक निकायका प्रमुख एवम् अरु सुरक्षा निकायका प्रमुखहरु उपस्थित थिए। 
 
यसैबीच, नेपाली सेनाको ४२औँ प्रधानसेनापतिका रुपमा उनले सैनिक मुख्यालय जङ्गी अड्डामा आजै पदभार ग्रहण गरेका छन्। 
 
यसअघि मुख्यालयमा उनको सम्मानमा सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो। यसअघिका प्रधानसेनापति गौरवशम्शेर राणा आजैदेखि सेवानिवृत्त भएका छन्। 
 
नवनियुक्त प्रधानसेनापति क्षत्रीको सम्मानमा नेपाली सेनाले आजै साँझ स्वागत समारोहको कार्यक्रम राखेको छ। उनले गएको साउन २६ गतेदेखि कायममुकायम प्रधानसेनापति भई जिम्मेवारी सम्हाल्दै आएका थिए। 
 
तनहुँको चोक चिसापानी गाविसको दुधेकुनामा जन्मनुभएका क्षत्री २०३५ सालमा नेपाली सेनाको सैनिक शिक्षालय खरिपाटीबाट अधिकृत क्याडेट तालिममा उत्कृष्ट नतिजा हासिल गरी राजदल गणमा सहायक सेनानी दर्जामा नियुक्त भएका थिए। 
 
प्रतिविद्रोह तथा जङ्गल युद्धकला, जुनियर स्टाफ, गुल्मपति, गणपति तालिममा समेत उनले उत्कृष्ट नतिजा हासिल गरेका थिए। 
 
नेपालको सैनिक शिक्षालयबाट आयुक्त पद प्राप्त गरी प्रधानसेनापति पदमा नियुक्त हुने महारथी क्षत्री पहिलो व्यक्ति हुन्। 
 
भारत, पाकिस्तान र चीनबाट फिल्ड आर्टिलरी, एयर डिफेन्स आर्टिलरी तथा पाकिस्तानको स्कुल अफ आर्मी एयर डिफेन्सबाट युनिट कमाण्डर कोर्स, भारतको डिफेन्स इन्स्टिच्यूट अफ साइकोलोजिकल रिसर्चबाट साइकोलोजिकलको अधिकृत तालिम पनि उनले हासिल गरेका छन्। अमेरिकाको फोर्ट लेवनवर्थ, क्यानसस्बाट कमाण्ड र जनरल स्टाफ कलेज तथा अमेरिकी आर्मी वार कलेज कार्लाइकल पेन्सलभानियाबाट आर्मी कलेज गरेका छन्। त्रिभुवन विश्व विद्यालयबाट इतिहासमा तथा अमेरिकाको आर्मी वार कलेजबाट स्ट्राटेजिक स्टडिजमा स्नातकोत्तर तहको शिक्षा उनले प्राप्त गरेका छन्। 
 
सैनिक सेवामा ३६ वर्षको अनुभव सम्हालेका प्रधानसेनापति क्षत्रीले यसअघि सुरक्षा परिषद्मा विश्लेषकका रुपमा रणनीतिक तहको स्टाफ, प्रबन्धरथी, सैनिक विनय महानिर्देशक, बलाध्यक्ष र बलाधिकृतको कुशलतापूर्वक जिम्मेवारी पूरा गरेका थिए। उनका पिता गोपालबहादुर क्षत्रीले नेपाली सेनाको महासेनानीबाट अवकाश लिएका थिए। रासस
Previous
Next Post »