गुन्डाको आयु ३५ बर्ष अखिलको आयु ३२ बर्ष

काठमाडौँ, १ भदौ ।
नेकपा एमालेको जुझारु संगठनको उपमा पाएको अखिल
नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन
(अनेरास्ववियु) मा विधानको बहस सुरु भएको छ ।
त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी
युनियन (स्ववियु) को कार्यसमितिमा रहन २८ वर्ष
उमेर हदको व्यवस्था गरेपछि अनेरास्ववियुले पनि
विद्यार्थी राजनीति गर्न उमेर, योग्यता र चरित्रको
विषयमा बहस सुरु गरेको हो ।
५ र ६ भदौमा अनेरास्ववियुको विधान सम्मेलन हुँदैछ
। यसैको पूर्वसन्ध्यामा अब अनेरास्ववियुको नेता
कस्तो हुने, कति वर्षको हुने र कति पढेको हुनुपर्ने
भन्ने निदान हुनुपर्छ भन्ने बहस सुरु भएपछि
माउपार्टी नेकपा एमालेका सचिव तथा प्रचार विभाग
प्रमुख योगेश भट्टराईले भने, ‘हाम्रो त दिमाग
हल्लिएको छ, एमालेको सिंगो पंक्तिलाई यसले
हल्लाएको छ ।’
मंगलबार अनेरास्ववियुको शैक्षिक विभागले गरेको
कार्यक्रममा प्रमुख अतिथि रहेका भट्टराई
अनेरास्ववियुकै सफल अध्यक्षमध्ये एक हुन् । उनले
भने, ‘म सुन्छु, मसँग २०४५ सालतिर विद्यार्थी
राजनीति गरेकाहरु पनि अहिले विद्यार्थी राजनीति
गर्दैछन् रे, त्यही भएर अब उमेर हद राख्ने प्रस्ताव
स्वीकार्य छ ।’ उनले भने, ‘१६ मा एसएलसी, १९ मा
प्रमाणपत्र तह, २२ मा स्नातक, २५ मा
स्नातकोत्तर र २८ मा एमफिल हुन्छ, अझै ४ वर्ष
चैँ केलाई राखेको, कहिलेकहीँ फेल हुन्छ र एमालेको
कार्यक्रममा पनि हिँड्नु पर्छ भने र ?’
विद्यार्थीहरुले ताली बजाए, हाँसो चल्यो ।
भट्टराईले भने, ‘हामी कलेज पढ्दा तीन महिना गाउँ
गएर पढाउनु पथ्र्यो, राष्ट्रिय विकास सेवा (राविसे)
गर्नुपथ्र्यो, हामी गएर पढाएनौँमात्र संगठन बनायौँ,
कम्युनिष्ट बनायौँ, त्यसपछि पञ्चायतले राविसे नै
खारेज गरेको हो ।’ थपे, ‘अहिले पनि अनेरास्ववियुको
विद्यार्थी कर्णाली, मधेसमा गएर एक महिना काम
गर्ने कि काठमाडौँमा हप्ता उठाउने, ठेक्का कब्जा
गर्ने ?’
भावुक हुँदै भट्टराईले थपे, ‘पार्टी अध्यक्ष केपी
ओली, हामीहरु मिलेर पनि अनेरास्ववियु बिगार्दैछौँ,
रुपान्तरण गर्ने बेला भयो ।’ उनले भ्रातृसंगठन
बिग्रनुमा पार्टी अध्यक्ष, वरिष्ठ नेताहरु,
पदाधिकारी उत्तिकै जिम्मेवार भएको बताए ।
अनेरास्ववियुको राजनीतिक कार्यदिशाबारे पार्टीले
लगाम लगाउन नसकेको र गुटको समर्थनमा लगाउने
काम गल्ती भएको भट्टराईले स्वीकारे ।
युवा संघमा नागरिकता हरायो
भट्टराईले भने, ‘युवा संघमा ४० वर्ष उमेर हदबन्दी
लगाउने काम भयो । बुटवलमा निर्वाचन हुँदा
साथीहरुले मनोनयनका बेला नागरिकता हराएको काइते
कुरा गरे, सिडियोबाट प्रमाणित गराएर ४०
वर्षमुनिको भनेर कागज पो देखाए ।’ भट्टराईले थपे,
‘वकिललाई सोध्दा यस्तो कागज प्रमाण हुने
बताउँछन्, तर एकसाथ उम्मेदवारहरुको नागरिकता के
गरी हराउँछ ?’ आफू युवासंघ इन्चार्ज हुँदा उमेरको
हदबन्दी राख्दा उम्मेदवारले नागरिकता हराए झैँ
अनेरास्ववियुमा पनि नागरिकता हराउने रोग नसरोस्
भनेर भट्टराईले सुझाव दिए ।
गौतम बुद्धले कति पढेको ?
भट्टराईले भने, ‘हाम्रा अध्यक्ष ओलीले भन्नुभयो,
गौतम बुद्धले कति पढेको ? तर कुरा त्यसो होइन,
त्यतिखेर कलेज थिएन, अहिले गाउँगाउँमा प्लस टु छ,
अनेरास्ववियुको नेता हुन अब पढ्नु पर्दैन ? योगेश
भट्टराईको गुटको भन्दैमा हुन्छ ?’ चरित्र राम्रो हुनै
पर्छ । चोरी, डकैती र बलात्कारीलाई जोगाउनै हुँदैन

युवासंघ र अनेरास्ववियु विघटन गरौँ
भट्टराईले आफ्नो सम्बोधनमा भने, ‘म युवासंघ
इन्चार्ज हुँदा अनेरास्ववियु इन्चार्ज भानुभक्त
ढकाललाई भनेको थिएँ कि तीनवर्षलाई दुईटै
संस्थाको केन्द्रीय समिति खारेज गरौँ ।’ भट्टराईले
अनेरास्ववियु र युवासंघमा आएको विकृति रोक्न
कम्तीमा तीनवर्ष दुई संगठनको केन्द्रीय समिति
खारेज गर्न उपयुक्त भनेर ढकालसँग प्रस्ताव गर्दा
ढकालले हिम्मत नगरेको सुनाए । उनले जिल्ला कमिटी
चल्न दिउँ, केन्द्र खारेज गरौँ भनेको बताए । भने,
‘अब चैँ खारेज होइन, रुपान्तरण गरौँ, समय अझै
बाँकी छ । नपढेकाले पढौँ, कम्तीमा राजेन्द्र राईको
किताब त पढौँ अनेरास्ववियुमा लागेपछि ।’
इन्चार्जको आलोचना
भट्टराईले भने, ‘पार्टीले पठाएको इन्चार्ज पनि उस्तै
हुन्छन्, पार्टीको नीति व्याख्या गर्दैन । अधिवेशनमा
चैँ कुन गुटको भनेर चासो लिन्छ ।’
पूर्व अध्यक्ष तथा एमाले केन्द्रीय सदस्य
राजेन्द्रकुमार राईले पनि कार्यक्रममा भने, ‘यस्तै हो
भने अनेरास्ववियुको अब औचित्य छैन, कम्तीमा
खराब नेता उत्पादनको कारखाना बन्द गरिनु पर्छ ।’
आफू अनेरास्ववियुकै राजनीतिबाट पार्टीमा आएको
बताउँदै राईले भने, ‘अनेरास्ववियु यो हालतमा पुग्छ
भन्ने थाहा भएको भए राजनीतिमा लाग्ने नै थिइनँ ।’
उनले चारित्रिक हिसाबले अनेरास्ववियुको केन्द्रीय
नेता चिट चोराउने काममा लागेको रिपोर्ट आएको
सुनाए । भने, ‘आकारका हिसाबले अनेरास्ववियु छ तर
गुणका हिसाबले समाप्त भयो ।’ यसलाई पुनर्जीवन
दिन सकिने कि नसकिने भन्ने चिन्ता रहेको उनले
बताए । थपे, ‘अब नेबिसंघ र अनेरास्ववियुबीच पाँच
वटा फरक छुट्याऊ भने भने छुट्याउन नसकिने भयो,
उता अध्यक्षलाई मोसो दल्ने, यता क्याम्पसमै
खुकुरी हान्ने ।’
इन्चार्जलाई चिन्दैन विधानले
राईले पार्टीले खटाउने अनेरास्ववियु इन्चार्जलाई
अनेरास्ववियुको विधानले अहिलेसम्म नचिनेको बताए ।
उनले थपे, ‘केन्द्रीय सदस्य, पोेलिटब्युरो सदस्य
हुन्छ इन्चार्ज तर संगठनको विधानले चिन्दैन, उही चैँ
पार्टीको बैठकमा जाँदैन, अनेरास्ववियुको बैठकमा
आएर धर्ना दिन्छ, न विद्यार्थीको कुरा पार्टीमा पु
¥याउँछ, न पार्टी र संगठनको अन्तर्सम्बन्ध
पढाउँछ, जंगबहादुर नै हुन्छ त ।’
राईले गणतन्त्रको मुद्दा अनेरास्ववियुले उठाए पनि
पछिल्लो समय संगठन जुझारु हुन नसकेको, नेविसंघकै
कार्यकर्ताको जस्तो चरित्रमा पुगेको र विघटनको
नजिक भएको आलोचना गरे । राईले भने, ‘गुन्डाको
आयु ३५ वर्ष, कुकुरको आयु १२ वर्ष भने झैँ
अनेरास्ववियुको आन्दोलन हाँक्नेको आयु तोकिनु
पर्छ, पोस्टर टाँस्दा ससुरालीपट्टिकाले देखेकी भनेर
लजाउने, आन्दोलनमा जान डराउने नेता काम छैन ।’
विधान बहस
अनेरास्ववियुमा उमेर, चरित्र र शिक्षाबारे विधान
सम्मेलनमा बहस हुने भएको छ । युवासंघमा ४० वर्ष
हदबन्दी भएकाले अनेरास्ववियुमा ३५ वर्ष कायम
गरिनु पर्छ भन्ने माग छ । यस्तै पदाधिकारी हुन
स्नातक हुन पर्ने भनिएको छ । चारित्रिक रुपमा पनि
दाग नलागेको हुनुपर्ने भनिएको छ ।

Previous
Next Post »