
यसले आफ्नो कार्यकाल पुरा नगरी वर्क पर्मिट क्यान्सिल गरेर आउने कामदार मर्कामा पर्नेछन् ।
कामदारले बीचमै कोरिया
छाडेर आउने क्रम बढेपछि कोरियन सरकारले यस्तो निर्णय गरेको हो ।
दोस्रो कार्यकाल पुरा नगरी फर्किने कामदारले फेरि जान नपाउने ईपीएस कोरिया शाखाका अधिकृत शोभाकर परजुलीले अनलाइनखबरलाई जानकारी दिए । ‘अब सीभीटी परीक्षा दिएर कोरिया गएकाले बीचमै भिसा क्यान्सिल गरेर आएमा फेरि भाषा परीक्षा दिन पाउँदैनन्,’ उनले भने, ‘विदामा आउनेको हकमा यो नियम छैन । तर, जागिर नै छाडेर फर्किनेलाई कोरियाले अर्को मौका दिँदैनन ।’
कोरियामा पहिलो पटक भाषा परीक्षा पास गरेर गएकाले ४ वर्ष १० महिना काम गर्न पाउँछन् । दास्रोपटक कम्प्युटरमा आधारित भाषा परीक्षा दिएर अर्को ४ वर्ष १० महिनाको लागि जान पाइन्छ ।
तर, दोस्रोपटक जानेहरु बीचमै विभिन्न कारण देखाउँदै काम छाडेर फर्किने र फेरि भाषा परीक्षा दिएर कोरिया फर्किने गरेको पाइएपछि रोक लगाइएको बुझिएको छ ।
‘कामदार लैजाँदा कम्पनीले त्यहाँको सरकारलाई शुल्क पनि बुझाएको हुन्छ । बीचमै कामदारले छोडेर स्वदेश फर्किँदा कम्पनीमा जनशक्ती अभावले असरहरु देखिन्छ,’ पराजुली भन्छन्, ‘उसले तत्कालै कामदार पनि लिन सक्दैन । त्यसैले कोरियाले बीचमै काम छाडेर फर्किने क्रम रोक्न यस्तो नियम ल्याएको हुनसक्छ ।’
अहिले सम्म ईपीएस भाषा परीक्षा दिएर ५० हजारभन्दा बढी नेपाली त्यहाँ पुगेका छन् ।