काठमाडौंमा ‘भुस्याहा’ कुकुरका लागि वृद्धाश्रम

१५ भदौ, काठमाडौं । ‘भुस्याहा’ कुकुरका लागि वृद्धाश्रम, त्यो पनि काठमाडौंमा ! धेरैलाई यो कुरा सुन्दा अचम्म नै लाग्ला, तर यही सहरका केही मानिसहरू भने यसलाई आफ्नो सपना बनाएर दिनरात लागिरहेका छन् । विगत एक दशकदेखि ‘कुकुर वृद्धाश्रम’का लागि वकालत गरिरहेको यो समूहको योजनामा कुनै अवरोध भएन भने अबको एक वर्षमा नेपालमै पहिलो पटक यस खालको पशु स्रोत केन्द्र खुल्नेछ ।

पशु कल्याणका क्षेत्रमा कार्यरत एनिमल नेपाल नामक संस्था बुढेसकाल लागिसकेका र घाइते अवस्थामा सडकमा भौंतारिरहेका कुकुरहरूलाई आश्रय उपलब्ध गराउने प्रमुख उद्देश्यका लागि पशु स्रोत केन्द्र स्थापनाको तयारीमा छ । करिब एक करोड रुपैयाँ खर्चिएर संस्थाले ललितपुर जिल्लाको दक्षिणी भेगमा रहेको डुकुछापमा १२ रोपनी जग्गा किनेको छ । अनि, स्रोत केन्द्र स्थापनाका लागि करिब त्यति नै खर्च हुने अनुमान सहित पैसा उठाउन जुटेको छ ।
“हामीले आठ वर्षभरि सङ्कलन गरेको दान दातव्य खर्च गरेर जग्गा त बल्लबल्ल किन्यौँ,” नौ वर्ष पुरानो संस्थाकी अध्यक्ष प्रमदा शाह भन्छिन्, “हामी गैरनाफामुखी संस्था हौँ । भोलि नाफा कमाइएला भनेर लगानी गर्ने कुरा भएन । आजसम्म हामीले जेजे गरेका छौँ, मनमा मानवता भएका मानिसहरूले हामीलाई जेजे दिए, उनीहरूकै कारण सम्भव भएको छ ।”
‘नेपालमै पहिलो पटक’
हुन त काठमाडौँमा सडकमा आश्रति कुकुर र अन्य घरपालुवा जनावरका लागि सानातिना आश्रय स्थल नखुलेका होइनन् । तर तीमध्ये अधिकांश व्यक्तिगत तवरमा सञ्चालित छन् र तिनमा धेरै जनावर अट्दैनन् ।
“त्यसैले हाम्रो उद्देश्य आश्रय स्थल मात्र होइन,” शाह प्रस्ट्याउँछिन्, “हामी एउटा स्रोत केन्द्र खोल्दै छौँ । यो एउटा सिकाइ केन्द्र हुनेछ । यहाँ आएर मानिसले जनावर के हुन् र तिनलाई हामीले कस्तो व्यवहार गर्नुपर्छ भन्ने कुरा देख्नेछन्, सिक्नेछन्, जान्नेछन् र बुझ्नेछन् ।”
“काठमाडौँका आजकालका केटाकेटीलाई दुध कहाँबाट आउँछ थाहा छैन नि ! उनीहरू बफ र चिकेन मममा खुब रमाउलान्, तर त्यसभित्रको मासु कहाँ र कसरी उत्पादन र प्रशोधन हुन्छ भन्ने बुझेका छन् त ?” संस्थाका कार्यकारी निर्देशक उत्तम काफ्लेको नम्र बोलीमा पनि चेतावनीको भाषा सुनिन्छ, “नेपालको सहरी समाज बिस्तारै जनावरबाट टाढिँदै छ । यो एकदमै गम्भीर समस्या हो । हाम्रो स्रोत केन्द्रले यस्ता समस्यालाई समाधान गर्ने समष्टिगत प्रयास गर्नेछ ।”

संस्थाले योजना बनाए अनुसार नै स्रोत केन्द्र बन्यो भने त्यहाँ करिब ३० ‘ज्येष्ठ’ कुकुर, करिब २० घाइते कुकुर र करिब ४० घोडा, गधा र खच्चर लगायत उद्धार गरिएका ‘कामदार’ (भारी बोक्ने) पशु रहनेछन् । साथै, त्यहाँ उपचार केन्द्र, अध्ययन केन्द्र, खेतबारी, चरण स्थल लगायतका सुविधा पनि हुनेछन् ।
पशु कल्याणको दर्शन
शाह र काफ्लेजस्ता पशु अधिकारकर्मीहरूको दाबी छ कि पशु कल्याण मानव जातिको अन्तर्निहित गुण हो, खालि मानव समुदायका धेरै सदस्यहरूले यसलाई महसुस गर्न मात्र बाँकी छ । पशुप्रतिको प्रेम संसारको जुनसुकै स्थानमा पनि, सभ्यताको सुरुवातदेखि नै मानव समाजको अभिन्न अङ्ग भएको उनीहरू बताउँछन् ।
त्यसैले त संसारका सबै धर्मले पशुपक्षीलाई माया र सम्मान गर्न सिकाउँछन् । “हिन्दूहरू निर्विवाद पशु पूजक हुन् । गाई र कुकुर लगायतका जनावरलाई पूजा गर्नका लागि हामीसँग विशिष्ट चाडपर्व छन् । हामीले पूजा गर्ने हरेक देवीदेवताका वाहनका रूपमा कुनै न कुनै पशु वा पक्षी छन् र हामी तिनलाई पनि भगवानकै स्वरूप मान्छौँ,” शाहको कुरा सुन्दा कुनै धार्मिक प्रवचन सुनेको आभास हुन्छ ।
“बुद्ध नेपालमा जन्मिएका हुन् भन्नमा हामी त्यसैत्यसै मख्ख पर्छौँ । संसारभरि आफूलाई शान्तिप्रिय भनेर चिनाउन हामी उनको नाम बेच्न पनि तयार छौँ । तर किन हामी बुद्धत्वको मूल मर्म, हरेक प्राणीप्रतिको करुणालाई भनेर सधैँका लागि बिर्सन सक्छौँ,” उनको प्रश्न छ, “बरु, पश्चिमाहरू पशु कल्याणका मामिलामा हामीभन्दा धेरै अगाडि बढिसकेका छन् ।”
“जन्मँदा नै मान्छे ज्ञानले पूर्ण हुन्छ । त्यसलाई जगाउन, महसुस गर्न मात्र बाँकी रहेको हुन्छ,” शाहको कुरा सुन्दा क्रिस्चियन धर्मको प्रारम्भिक कालका धर्मगुरु अगस्टाइनको शिक्षा सम्बन्धी सिद्धान्त याद आउँछ । उता, काफ्ले भने महात्मा गान्धीलाई सम्झन्छन्, जसले भनेका थिए, “कुनै पनि राष्ट्रको महत्ता त्यहाँ जनावरलाई कस्तो व्यवहार हुन्छ भन्ने कुराबाट मूल्याङ्कन गर्न सकिन्छ ।”
सम्भ्रान्तको एजेन्डा होइन त ?
धेरै नेपालीका लागि पशु कल्याण भनेको सम्भ्रान्तहरूको एजेन्डा हो । दिनको दुई छाक हातमुख जोड्नकै लागि हजारौँ मानिसले ‘पशुतुल्य’ सङ्घर्ष गर्नु परिरहेका बेला पशु कल्याणको कुराले दाता तथा अन्य सरोकारवालाको ध्यान मानिसबाट हटाउने र यसले गर्दा दुःख पाइरहेका मानिस झन् समस्यामा पर्ने उनीहरूको तर्क छ ।
तर, पशु अभियानकर्मीसँग यसको पनि उत्तर छ । “नेपालमा मानिसका लागि काम गर्ने गैरसरकारी संस्था करिब ३० हजारको सङ्ख्यामा छन् भने जनावरका लागि एक दर्जन पनि छैनन्,” शाह भन्छिन्, “जनावरहरू पनि हाम्रै समाजका अङ्ग हुन् । उनीहरूसँग पनि हाम्रैजस्ता संवेदना र मानवीय गुण हुन्छन् । त्यसैले उनीहरूलाई पनि मान्छे जत्तिकै ध्यान, सहयोग तथा स्याहार आवश्यक छ ।”
जनावरहरूले हाम्रो अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याए पनि यसको उचित मूल्याङ्कन हुन नसकेको शाहको ठहर छ । नेपालका व्यवसायी तथा उद्यमीले आफ्नो व्यवसायमा निर्दोष जनावरले दिएको योगदान बुझून् अनि त्यसै अनुसार तिनलाई राम्रो व्यवहार गरून् भन्ने आफ्नो संस्थाको चाहना रहेको उनी बताउँछिन् ।
“काठमाडौँमा मम बनाउन राँगा र भैंसीलाई कसरी ल्याइन्छ तपाईँलाई थाहा छ,” काफ्ले आफैँले सोधेको प्रश्नको उत्तर दिन अघि सर्छन्, “एउटै ट्रकमा दर्जनौँ पशुलाई यसरी कोचिन्छ कि पूरा यात्राभरि नै तिनीहरू हलचल गर्न पाउन्नन् । अनि भोलिपल्ट उनीहरूलाई कसरी मारिन्छ कहिल्यै देख्नुभएको छ ?”
“तपाईँ मासु खानुहोस् वा शाकाहारी भएर बाँच्नुहोस् त्यसमा मेरो केही चासो छैन,” उनी बल्ल कुरोको चुरो बताउँछन्, “तर एउटा वैज्ञानिक तथ्य याद गर्नुहोस् कि यदि कुनै पशु तनावकै अवस्थामा रहेको बेला मारिन्छ भने त्यस जनावरको मासुले खाने मान्छेभित्र पनि तनाव सिर्जना गर्छ ।”
त्यसै गरी, नेपालका व्यवसायिक पशुपालकले जन्मने बित्तिकै बाच्छाबाच्छी र पाडापाडीलाई किन माउबाट छुटाउँछन् भन्ने कुरा शाहले आजसम्म बुझ्न सकेकी छैनन् जब कि उनीहरूलाई आफ्नो गाँसको स्रोत तिनै गाईभैंसी हुन् भन्ने स्पष्ट थाहा छ ।
भनेपछि पशु कल्याण भनेको शाकाहारीको मात्र चासो त होइन रहेछ नि !

हाम्रो परिवार र समाजका बालबालिकालाई प्रेम र करुणा सिकाउने हो भने वरिपरिका जनावरलाई राम्रो व्यवहार गर्नु महत्वपूर्ण रहेको निर्देशक काफ्लेको भनाइ छ । “तपाईँ आफ्ना छोराछोरीलाई चाँहि हरेक बिहान र साँझ गुड मर्निङ् र गुड इभिनिङ् भन्न सिकाउनुहुन्छ, तर बाटामा भेटिने कुकुरलाई लात मार्नुहुन्छ भने उनीहरू के सिक्लान् ?” उनको चेतावनीको श्रृङ्खला रोकिएको छैन, “बाल्यकालमा यातना देखेर हुर्किएको बालक भोलि हिंसात्मक हुन्छ ।”
“कुरा पशु कल्याणको मात्र होइन । सबभन्दा महत्वपूर्ण कुरा हाम्रो समाजलाई समग्रमा कसरी विकास गर्ने भन्ने हो ।”
कृषि र पर्यटनको विरोध किन त ?
एनिमल नेपाललाई बेलाबेला कृषि र पर्यटन उद्योगका विरुद्ध अभियान चलाएको आरोप पनि लाग्ने गरेको छ । तर, शाहलाई यो कुरा स्वीकार्य छैन । “अहँ, हामीले तपाईँको व्यवसायलाई खत्तम गर्न चाहेकै छैनौँ । हामीले खालि पशुप्रति जिम्मेवार अनि संवेदनशील कृषि र पर्यटन उद्योगको विकास गर्न चाहेका हौँ ।”
काफ्ले पर्यटन उद्योगमा प्रयोग गरिने हात्तीलाई कसरी तालिम दिइन्छ भन्ने उदाहरण दिन्छन् । उनका अनुसार हात्तीहरूलाई पिटीपिटी, अगुल्टो झोसेर धैर्यवान् हुने अभ्यास गराइन्छ ता कि माहुतेले जे गर्न लगाए पनि उनीहरू मानून् । तर कहिलेकाँहि हात्तीको धैर्यको सीमा टुट्छ अनि माहुतेलाई मार्न पुग्छन् ।
हात्तीको तालिमबारे जानेपछि शाहले हात्ती चढ्न छाडिन्, बरु एक पटक हात्तीसँगै जङ्गल भ्रमणमा निस्किन् । उनलाई हात्तीसँग हिँड्दाको अनुभव हात्ती चढ्दाको भन्दा धेरै रमाइलो अनि आनन्ददायी लाग्यो ।
“हो, मान्छेले युगौँदेखि आफ्नो जीविकाका लागि जनावरलाई प्रयोग गर्दै आएको छ । तर हामीले आफ्नो लोभ र स्वार्थका लागि उनीहरूलाई आधारभूत आवश्यकताबाटै वञ्चित गर्न त मिलेन नि,” काफ्ले बताउँछन् । उनका अनुसार विश्वव्यापी पशु कल्याण आन्दोलनले मानव नियन्त्रणमा रहने जनावरका लागि पाँच आधारभूत स्वतन्त्रता पहिचान गरेको छ । ती हुन्  १) भोक र तीर्खाबाट स्वतन्त्रता, २) अप्ठेरो जीवनबाट स्वतन्त्रता, ३) दुखाइ, चोटपटक तथा रोगबाट स्वतन्त्रता, ४) सामान्य व्यवहारको स्वतन्त्रता, अनि ५) डर तथा चिन्ताबाट स्वतन्त्रता ।
सहयोगको आहृवान
स्रोत केन्द्र स्थापनाका लागि सहयोग जुटाउनकै लागि भनेर एनिमल नेपालले भोलि शुक्रबार, ललितपुरको सानेपामा ‘द कनेक्सन’ नामको एक कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा गीत सङ्गीत र नृत्य लगायतका धेरै मनोरञ्जनात्मक गतिविधि हुनेछन् ।
हुन त संस्थाले भोलिको कार्यक्रमबाटै त्यति धेरै आर्थिक उपलब्धि हुने अपेक्षा गरेको छैन । “हामीलाई जम्मा एक करोड रुपैयाँ चाहिएको हो । भोलि त पाँच लाख मात्र उठाउन सक्यौँ भने पनि हाम्रा लागि एकदमै ठूलो उपलब्धि हुन्छ,” शाह भन्छिन्, “पैसाभन्दा पनि हामीले भोलि चाहेको कुरा के हो भने नेपालीहरूलाई पशु कल्याणप्रतिको आफ्नो दायित्व महसुस होस् ।”
“आफ्नो समाजको विकासका लागि त आफैँले योगदान दिनुपर्छ नि । सधैँ विदेशी सहयोगमा आश्रति भएर कसरी देश बन्छ,” शाह बताउँछिन् । यद्यपि, गैरआवासीय नेपाली समुदायले नेपालका विभिन्न विकास परियोजनामा देखाएको चासोलाई नियालेर हेरेको संस्थाले आफ्नो सपनामा पनि नेपाल बाहिर रहेका नेपालीबाट धेरै अपेक्षा गरेको छ ।
काफ्ले नेपालका ठूला उद्योग व्यवसायले पनि आफ्नो परियोजनालाई सकेजति सहयोग गरून् भन्ने चाहान्छन् । शुक्रबारको कार्यक्रम त खालि पहिलो पाइला हो ।
“उद्योग र व्यवसाय मात्र होइन, हामी सञ्चार माध्यम, शैक्षिक संस्था र सामाजिक सङ्गठनसँग पनि हातेमालो गर्न तयार छौँ,” उनको अपिल छ, “जति सकिन्छ गरौँ, एउटा थाम नै किन नहोस्, एउटा छानो नै किन नहोस् ।”
हुन त पशु स्रोत केन्द्रकै लागि भनेर संस्थाले २० लाख रुपैयाँ जति उठाइसक्यो । शाह भन्छिन्, “तर, सपना पूरा नभएसम्म हामी सहयोग गर्छौँ, सहयोग मागि नै रहन्छौँ । हरेकले एक एक इट्टा थपे मात्र हामी सपनाको घर बनाउन सक्छौँ ।”

स्रोतः www.onlinekhabar.com
Previous
Next Post »