भदौ २२ – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) र म्यानचेस्टर सिटीले वित्तिय डोपिङ अर्थात छली गरेको ला लिगाका अध्यक्ष जावियर टेबासले आरोप लगाएका छन् ।
म्यानचेस्टरमा भएको सकरेक्स सम्मेलनमा टेबासले पिएसजी र म्यानचेस्टर सिटीले खेलाडी अनुबन्धका लागि फुटबल भन्दा बाहिरको पैसा खर्च गरेको बताए । यस्तो कार्य तत्काल रोकिनु पर्ने उनको भनाई छ । पिएसजीले नेइमारलाई विश्व कीर्तिमानी मूल्य २० करोड पाउण्डमा अनुबन्ध गरेपछि पिएसजी नियममाथि हाँसिरहेको उनले बताए ।

व्यंग्यात्मक रुपमा उनले भने ‘हामीले पिएसजीलाई स्वीमिङ पुलमा पिसाब गर्दै गर्दा देखेका छौं । नेइमारले त डाइभिङ बोर्डबाट पिसाब गरे । हामी यो स्वीकार गर्न सक्दैनौं ।’
टेबासले म्यानचेस्टर सिटीले पनि यस्तै गरेको बताए । युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले पिएसजीले नेइमारलाई अनुबन्ध गर्ने बेला फाइनान्सियल फेयर प्ले नियम उल्लंघन गरे नगरेको बारे अनुसन्धान गरिरहेको छ । तर म्यानचेस्टर सिटीमाथि भने अनुसन्धान सुरु भएको छैन ।
