पोष्टबहादुर बस्नेत
विद्या भण्डारीको राजनीतिक यात्रा
एमाले नेतृ विद्या भण्डारीको नेपाली राजनीतिमा आगमन लोकप्रिय पार्टी नेता मदनकुमार भण्डारीसँगको वैवाहिक सम्बन्धका कारण भएको होइन। उनको राजनीतिक उदयको आधारशिला भने उनै लोकप्रिय नेता भण्डारीकै विरासतले निर्माण गर्यो।
२०३५ सालमा उग्रवामपन्थी नेकपा (माले) बाट राजनीति सुरु गरेकी भण्डारी ०३९ सालमा महेन्द्र मोरङ क्याम्पस विराटनगरमा स्वतन्त्र विद्यार्थी युनियनको कोषाध्यक्ष पदमा निर्वाचित भएकी थिइन्। यसको कारण महिला हुनु मात्र होइन, उनमा महत्वपूर्ण राजनीतिक खुबी पनि थियो। तत्कालीन समयमा पार्टीका करिब दुई सय सदस्यमध्ये एक थिइन् भण्डारी।
भोजपुरको विकट मानेभञ्ज्याङ गाउँमा जन्मिएकी ५४ वर्षीया भण्डारीका बाबु रामबहादुर पाण्डे जिल्लाका चर्चित प्रधानाध्यापक थिए। वैष्णव धर्मावलम्बी उनकी आमा मिथिला पाण्डेले सुनसरीको चतरामा धर्मशाला सञ्चालन गर्छिन्। उनी त्यहाँका स्थानीयले गन्ने–मान्नेमध्ये एक हुन्।
गाउँमा जन्मे पनि भण्डारीको बाल्यकाल अभावमा बितेन। उनको प्रारम्भिक राजनीतिक शिक्षा पनि घरबाटै भयो। यसले उनलाई राजनीतिक रूपमा महत्वाकांक्षी बनायो।
विराटनगर क्याम्पसमा राजनीति गर्दाकै समयमा उनको भेट भयो, पार्टी नेता मदन भण्डारीसँग। यी उदीयमान नेताले आकर्षक व्यक्तित्वकी धनी विद्यालाई विवाह प्रस्ताव राखे। उनले पनि नाइँ भनिनन्। पार्टीको स्वीकृतिमै उनीहरूले विवाह गरे।
विवाहपछि भने उनको राजनीतिक यात्रामा लगभग पूरै ‘ब्रेक’ लाग्यो। पुष्पलाल श्रेष्ठको राजनीतिक दर्शनबाट दीक्षित मदन भण्डारीको त्यसै समयमा तीव्र गतिले राजनीतिक उदय हुँदै थियो। पूर्णकालीन नेता भण्डारीको घर सम्हालिन् श्रीमती भण्डारीले। दुई छोरीको पालनपोषण र गृहिणीका रूपमा उनी घरमै सीमित रहन पुगिन्।
राजनीतिको यात्रा सधैं सरल रेखामा मात्र अघि बढ्दैन।
०५० जेठ ३ गते नेता मदन भण्डारीको दासढुंगा जीप दुर्घटनामा मृत्यु भएपछि विद्या भण्डारीको राजनीतिक जीवन पनि मोडियो।
त्यतिबेला दासढुंगा दुर्घटनालाई नियोजित हत्याका रूपमा लिनेहरू पनि प्रशस्तै थिए। भारतीय तथा अमेरिकी गुप्तचर संस्थाले संसारबाट कम्युनिस्ट सखाप पार्ने उद्देश्यले यो हत्याको षडयन्त्र गराएको हल्लाले पनि बजारमा ठूलै चर्चा पायो, त्यसबेला।
यही परिस्थितिमा आफ्ना बाबुआमाको मृत्यु हुँदा काजकिरियासमेत गर्नु हुँदैन भन्ने मान्यता राख्ने नेपाली कम्युनिस्टले भण्डारीलाई सेतो साडीमा जनतासामु प्रस्तुत गरे। सेतो साडीमा देखिएकी विद्या भण्डारी नेपाली समाजको मानसपटलमा यस्तरी छाइन्, उनीप्रति पार्टीभित्र र बाहिर सहानुभूतिको बाढी नै उर्लियो।
पतिको मृत्युपछि शोकमा डुबेकी भण्डारीको दोस्रो चरणको राजनीतिक यात्रा यहीँबाट सुरु भयो।
सेतो कपडामा देखिएकी भण्डारीको तस्बिर त्यतिबेला यति सशक्त भएको थियो, उनले अन्य राजनीतिक हस्तीलाई चुनावी प्रतिस्पर्धामा सहजै माथ खुवाएकी थिइन्।
मदन भण्डारीको मृत्युपछि खाली भएको काठमाडौं–१ मा सम्पन्न उपनिर्वाचनमा उनले नेपाली कांग्रेसका शीर्षनेता कृष्णप्रसाद भट्टराईलाई हराइन्। उक्त हारले नेपाली कांग्रेसका संस्थापक नेता भट्टराईको राजनीतिक जीवनमै ब्रेक लगाइदियो।
त्यसपछि ०५४ सालमा भण्डारी वातावरण तथा जनसंख्या मन्त्री बनिन्। ०५१ सालको निर्वाचनमा उनले पूर्व सभामुख दमननाथ ढुंगानालाई समेत पराजित गरिन्।
र, आज नेपाली प्रजातान्त्रिक आन्दोलनका सिपाही तथा कांग्रेसका हस्ती कुलबहादुर गुरुङलाई हराउँदै नेपालको इतिहासमा पहिलोपटक महिला राष्ट्रप्रमुख भएर इतिहास रचिन्।
उनको यो राजनीतिक सफलतामा दिवंगत श्रीमान मदन भण्डारीको छविको हात नभएको होइन, तर त्यही कारणले मात्र उनी राजनीतिमा सफल भएको तर्क गर्नु इतिहासको गलत मूल्यांकन हुनेछ। त्यो एक नेपाली नारीको जटिल राजनीतिक यात्राको अवमूल्यन पनि हो। किनकि, व्यक्तिगत कौशलता वा विरासत मात्र कसैको राजनीतिक उदयका लागि सबथोक होइन र हुन पनि सक्दैन।
विद्या भण्डारी आफ्नो विवाहअघि नै प्रशस्त राजनीतिक सम्भावना बोकेकी महिला हुन्। त्यसमा समयले पनि साथ दिएर एकपछि अर्को अवसर प्राप्त हुँदै गएको पार्टी सचिव योगेश भट्टराई बताउँछन्। ‘समयले दिएको अवसरलाई राम्रोसँग उपयोग गर्दै जानु उहाँको राजनीतिक सुझबुझ नै हो,’ उनले बुधबार सेतोपाटीसँग भने।
तत्कालीन समयले राजनीति लगायत अन्य क्षेत्रमा प्राप्त गर्ने उत्कृष्टतामा महत्वपूर्ण भूमिका खेलेको हुन्छ। भण्डारीसँग मुख्यतः दुई राजनीतिक हतियार थियो। पहिलो, मदन भण्डारीको विरासत र दोसो, समावेशिताको मुद्दा पेचिलो हुँदै जाँदा उदीयमान महिला नेतृ।
पाटीभित्र र बाहिर विकसित हुँदै गएको जटिल राजनीतिक गणितमा बाँकी काम भने उनको राजनीतिक चातुर्यले नै खेल्यो।
महाकाली सन्धिका विषयमा पार्टीभित्र चर्को विवाद सुरु भएलगत्तै उनी मदन भण्डारीको विरासतबाट अलिकति पछि हटिन्। भण्डारीको बिंडो थाम्दै पार्टी एकताका लागि कुनै पक्षमा लाग्नु हुन्न भन्ने धेरैको सुझाव लत्याउँदै उनी सन्धिको पक्षमा केपी ओली–माधव नेपाल गुटमा लागिन्।
०५० देखि ०५४ सम्म पार्टीको मजदुर संगठन ‘जिफन्ट’ मा महिला विभाग प्रमुख रहेकी भण्डारी नेपालगन्जमा सम्पन्न छैटौं महाधिवेशनबाट केन्द्रीय सदस्य बनिन्। त्यसपछि खुलेरै केपी ओली र माधव नेपालको समर्थनमा देखिन थालिन्।
गुटबन्दी राजनीतिमा माहिर भण्डारी ०६४ सालमा बुटवलमा सम्पन्न आठौं महाधिवेशनबाट पहिलोपटक उपाध्यक्ष पदमा निवार्चित भइन्। आफ्नो चातुर्यकै कारण उनी ०७१ सालमा सम्पन्न काठमाडौं महाधिवेशनमा पुनः उपाध्यक्ष निर्वाचित भइन्।
उनलाई पार्टीभित्र र बाहिर सबैभन्दा कट्टर र कठोर ‘बार्गेन’ गर्ने नेताका रूपमा लिने गरिन्छ। कतिपय पार्टी नेताका अनुसार भण्डारीले प्रधानमन्त्री केपी ओलीलाई समेत नरम नेताका रूपमा लिने गर्छिन्। हुन पनि भण्डारीको मुखबाट प्रायः लोकप्रिय कुरा होइन, कठोर कुरा नै सुनिन्छ। नागरिकताको सवालमा उनले लिएको विचारलाई कतिपय महिलावादीले आलोचना पनि गर्ने गरेका छन्। लामो समयदेखि एमालेको अखिल नेपाल महिला संघको नेतृत्वमा रहेकी भण्डारीले महिला प्रतिनिधित्वको पक्षमा पार्टीमा अडान भने राख्दै आएकी हुन्।
उनको राजनीतिमा देखिने प्रस्ट भूमिका भने कटवाल काण्डमा सार्वजनिक भयो। त्यतिबेला पार्टीमा अशोक राई ढुलमुलमा थिए भने वामदेव गौतम एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल नजिक। यस्तो अवस्थामा पार्टीमा तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवालको कारबाहीविरुद्ध चर्को रूपमा कुरा उठाउने र राष्ट्रपतिसँग गएर पहल गर्ने काम भण्डारीले नै गरेकी थिइन्।
त्यसै कारण भण्डारी नेपाली सेनाका जर्नेलहरूमाझ पनि लोकप्रिय थिइन्। पार्टी नेताहरूका अनुसार उनी रक्षामन्त्री बन्नुको कारण पनि यही हो।
नेपाली कांग्रेसलाई राष्ट्रपति पद दिनुपर्छ भन्ने मत रहँदा रहँदै उनलाई पार्टीभित्रबाट राष्ट्रपति बन्न समर्थन प्राप्त हुनुको अर्को कारण पार्टी अध्यक्ष पदमा उनको दावी पनि हो। दुई कार्यकाल उपाध्यक्ष भएको, विगतको कार्यमूल्यांकन राम्रो रहेको र मदन भण्डारीको विरासतका कारण उनलाई धेरैले पार्टी अध्यक्षको उम्मेदवारका रूपमा हेरेका थिए। त्यसैले, उनलाई राष्ट्रपति पद दिनु पार्टीभित्र अरूका लागि सिर्जना हुने राजनीतिक अवसर पनि हो।
४४ वर्षकै उमेरमा ब्लड क्यान्सरबाट पीडित बनेकी भण्डारी उपचारपछि क्यान्सरमुक्त भएकी छन्। उपचारका कारण उनको कम्मरमा भने समस्या देखिएको छ। उनी हिँडडुल गर्न सहज मान्दिनन्। क्यान्सरका कारण उनले पार्टीभित्र सहानुभूति बटुलेको मान्नेहरू पनि छन्।
कुनै एक गुटमा मात्र रहँदा पनि भण्डारीको चातुर्य, श्रीमानको विरासत र महिला भएका कारण उनलाई अर्को गुटले पूर्ण रूपमा निस्तेज गरेर जाने अवस्था कहिल्यै भएन। आज सबै प्रमुख पार्टीका कुनै न कुनै किसिमको राजनीतिक विरासत भएका महिलामध्ये भण्डारी सबैभन्दा प्रभावशाली र उच्च पदमा पुग्नुको एउटा कारण यो पनि हो।
उनले आफ्ना पतिसँगको पारिवारिक सम्बन्ध यथावत राखेकी छन्। आफ्नी सासू र देवर डा. कैलाश भण्डारीको परिवारसँगै उनको परिवार बस्छ। उनकी छोरी उषाकिरण भण्डारी भारतको जवाहरलाल नेहरु विश्वविद्यालयमा पढ्छिन भने छोरी निसाकुसुम भण्डारी चिकित्सक छिन्।
एमाओवादी नेता नारायणकाजी श्रेष्ठको शब्दमा, प्रमुख दलहरूमध्ये एमाले सबैभन्दा चरम दलगत र गुटगत स्वार्थमा चल्ने पार्टी हो। २०५१ सालपछिको नेपाली राजनीतिक इतिहास हेर्दा श्रेष्ठको भनाइ अतिसयोक्तिपूर्ण लाग्दैन। यो सन्दर्भमा विद्या भण्डारीले राष्ट्रपतिजस्तो तटस्थ पदको मर्यादा कसरी राख्न सक्छिन्, त्यो भने उनको कार्यशैलीले नै बताउनेछ।