बिरामी पुर्‍याएर फर्किएको एम्बुलेन्स मोर्चाको नियन्त्रणमा

महोत्तरीको बर्दिबासस्थित पारिजात अस्पतालको एम्बुलेन्स संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको कार्यकर्ताले बिहीबार नियन्त्रणमा लिएका छन् । 
 
जिल्लाको सम्सी नाकाबाट बिरामी पुर्‍याई आज बिहान ११ बजे सो एम्बुलेन्स बर्दिबास फर्किरहेको थियो। नम्बर नखुलेको सो एम्बुलेन्सबाट बर्दिबासका लागि खाद्यान्न सामग्री ढुवानी गरिएको भन्दै मोर्चाका कार्यकर्ताले गौशाला नगरपालिका–८ स्थित निगौल चौकमा एम्बुलेन्सलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ। 
 
निगौल चौकमा धर्नामा बसिरहेका मोर्चाका कार्यकर्ताले सम्सीतिरबाट आएको सो एम्बुलेन्समा आलु र प्याजका बोरा भेटाएपछि नियन्त्रणमा लिएको प्रहरी निरीक्षक चन्देश्वर यादवले बताए। 
 
मोर्चाका कार्यकर्ताहरुद्वारा नियन्त्रणमा लिइएको सो एम्बुलेन्सलाई छाडिदिन प्रहरीले मोर्चाका नेताहरुसँग आग्रह गरेको छ। रासस 
Previous
Next Post »