
एकीकृत नेकपा माओवादीकी सांसद् ओनसरी घर्ती सभामुखमा निर्वाचित भएकि छन्।
एमाओवादी सांसद् घर्ती व्यवस्थापिका संसद्मा शुक्रबार भएको निर्वाचनमा सभामुखमा निर्विरोध निर्वाचित भएकि छन्। नेपाल मजदूर किसान पार्टी (नेमकिपा)की सांसद् अनुराधा थापामगरले पनि सभामुखमा उम्मेद्वारी दिएकामा नेमकिपाले थापामगरलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव अन्तिम समयमा फिर्ता लिएपछि घर्ती निर्विरोध निर्वाचित भएकि हुन्। संसद् बैठकको अध्यक्षता गरेका लक्ष्मण राजवंशीले सभामुख पद्का लागि एक मात्र प्रस्ताव कायम रहेकाले घर्ती निर्विरोध निर्वाचित भएको घोषणा गरे।
नेपालको इतिहासमा घर्तीले पहिलो महिला सभामुख बनेर इतिहास कायम गरेकी छन्। नेपालमा हालसम्म पाँच जनाले सभामुखको जिम्मेवारी सम्हालेकामा घर्ती त्यो पदमा पुग्ने पहिलो महिला हुन्। घर्तीले नेकपा एमालेकी उपाध्यक्ष विद्या भण्डारीको प्रस्ताव तथा राप्रपा नेपालकी सांसद् कुन्ती शाहीको समर्थनमा शुक्रबार अपरान्ह उम्मेद्वारी दर्ता गराएकी थिइन्।
निर्धारित समयभन्दा दुई घण्टा ढिला सुरु भएको संसद् बैठकमा एमाले उपाध्यक्ष विद्या भण्डारी र राप्रपा नेपालकी सांसद् शाहीले घर्तीको संघर्षको चर्चा गरेका थिए। उनीहरुले महिलाहरुले जस्तोसुकै संर्घष गरेर आफूलाई प्रतिस्पर्धामा खरोरुपमा उतार्न सक्छन् भन्ने कुरा घर्तीको जीवन राम्रो उदाहरण भएको बताए।
मुख्य विपक्षी नेपाली काँग्रेसले पनि घर्तीलाई समर्थन गरेको थियो । काँग्रेस उपसभापति रामचन्द्र पौडेलले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले गरेको लिखित आग्रह अनुसार आफ्नो पार्टीले घर्तीलाई समर्थन गरेको बताए।
नवनिर्वाचित सभामुख घर्तीसँग २० महिना उपसभामुखको जिम्मेवारी निभाएको अनुभव छ । उनी यसअघि ०७० सालको फागुन १४ गते उपसभामुख निर्वाचित भएकी थिइन्। घर्तीले त्यतिबेला नेमकिपाकी सांसद् अनुराधा थापामगरलाई पराजित गर्नुभएको थियो । संविधानसभाको दोस्रो निर्वाचनमा रोल्पा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित घर्ती यसअघि युवा तथा खेलकुद् मन्त्री पनि भएकी थिइन्।
तत्कालीन माओवादीले संचालन गरेको दश वर्षे जनयुद्धकालमा घर्ती हतियार समाएर भूमिगत भएकी थिइन्।घर्ती एमाओवादीका सचिव वर्षमान पुनकी पत्नी हुन्।
उपसभामुखमा गंगा यादव
व्यवस्थापिका संसद्को उपसभामुखमा राप्रपा नेपालका सांसद् गंगाप्रसाद यादव निर्वाचित भएका छन्।
व्यवस्थापिका संसद्मा शुक्रबार साँझ भएको निर्वाचनमा राप्रपा नेपालका सांसद् यादव निर्विरोध निर्वाचित भएका हुन्। नेपाल मजदूर किसान पार्टीले आफ्ना सांसद् डिल्लीप्रसाद काफ्लेलाई उपसभामुखमा निर्वाचित गर्न दर्ता गराएको प्रस्ताव फिर्ता लिएपछि ६५ वर्षिय यादव उपसभामुखमा निर्वाचित भएका हुन्।
१६ वर्षको उमेरदेखि राजनीतिमा लागेका सप्तरीका यादव पंचायतकालमा वडाध्यक्ष हुँदै प्रधानपंच चुनिएका थिए । प्रधानपंचकै छोरा रहेका यादव २०५४ सालमा सप्तरीको जोगिनिया गाविसको अध्यक्ष निर्वाचित भएका थिए।
तत्कालीन राजा ज्ञानेन्द्रको शासनकालमा सप्तरी जिल्लाको उपसभापति बनेका यादव राप्रपा नेपालको सप्तरी जिल्ला अध्यक्षदेखि केन्द्रीय सदस्य हुँदै राजनीतिमा सक्रिय छन्।