संविधानसभाको बैठक वहिष्कार गरे पनि संसद् बैठक वहिष्कार गरेका छैनौ

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रमुख तीन दल सात प्रदेशको सीमांकन हेरफेरका लागि तयार नभएसम्म वार्ता सफल नहुने र मधेश आन्दोलन पनि नटुंगिने बताएका छन्।
रिपोर्टस क्लबले विहिबार काठमाडौंमा गरेको साक्षात्कारमा बोल्दै फोरम नेपालका अध्यक्ष यादवले सात प्रदेशको सीमांकन आधारहीन भएको भन्दै निर्णय पुनरावलोकनका लागि तीन दल तयार हुनुपर्ने बताएका हन्।
उनले पहिलो संविधानसभाको राज्य पुनर्संरचना आयोगले दिएको प्रतिवेदनलाई आधार मानेर सीमांकन गरिए मधेशी, मगर, थारु लगायतका समुदायको असन्तुष्टि साम्य हुने बताए।
फोरम नेपालका अध्यक्ष यादवले सरकारले संसद् सचिवालयमा दर्ता गरेको संविधान संशोधन विधेयकबारे आफूहरुलाई कुनै जानकारी नरहेको बताए। उनले आफूहरूसँग सल्लाह नै नगरी संशोधन विधेयक तयार पारिएको भन्दै संशोधन विधेयक दर्ता गरिनु नौटंकी भएको धारणा राखे।
फोरम नेपालका अध्यक्ष यादवले आफूहरुले संविधानसभाको बैठक वहिष्कार गरे पनि संसद् बैठक वहिष्कार गर्ने निर्णय नगरेको भन्दै सरकार गठनका लागि बोलाइने संसद्को बैठकमा भाग लिने/नलिने बारेमा मोर्चाले निर्णय गर्न बाँकि रहेको बताए। उनले नेपाली काँग्रेस र नेकपा एमाले दुवै पार्टी आफूहरुका लागि विषालु करेत र कोब्रा भएको भन्दै प्रधानमन्त्री चयनको प्रक्रियामा सामेल हुनु र नहुनुको अर्थ नहुने बताए।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आवद्ध फोरम नेपाल र अन्य तीन दलसँग संसद्मा ३५ जना सांसद् छन्।www.neplism.com