हिमाल दाहाल सुनसरी, असोज २९क्षमता भएर पनि नेपाल परनिर्भर भएको भन्दै साधुले पोखे आक्रोश
नेपालमा जडीबुटी सम्भावनाबारे नेतादेखि प्रशासनसम्मलाई झक्झक्याउँदै आएका धार्मिक गुरु कृष्णदास जी महाराजले भारतले अझै धेरै समय नाकाबन्दी गर्नुपर्ने प्रतिक्रिया दिएका छन्।
उनले एक डेढ वर्ष भारतले नाका खोल्न नहुने बताएकाछन्। ‘हामी नेपाली कति परजीवी र भतुवा भएर बाँचेका रहेछौं, त्यतीञ्जेलमा बुझ्छौं र बुझ्न जरुरी छ,' आत्मनिर्भरतामा जोड दिँदै उनले भने, ‘मातृभुमीको लागि अलिकति पनि चेतना छ भने हर एक नेपालीले चेत्नुपर्ने बेला आएको छ।'
नेपालले आफूभित्रको सम्भावनालाई नचिनेकै कारण अरुको दास भएर रहेको उनको टिप्पणी छ। नेपाल जडिबुटी, मसला, इन्धन, धान, तरकारी, फलफूल सबैमा आत्मनिर्भर बन्न सक्ने सम्भावना बोकेको भएपनि नेपालीमा चेत नभएको उनले आरोप लगाए।
‘वर्ष, डेढ वर्ष नाकाबन्दी लाग्यो भने नेपालीलाई अरु त अरु भुटुन र तेेलको पनि समस्या हुन्छ,' नेपाल संसारमै बढी मसला फल्ने देश भएको बताउँदै उनले भने, ‘तर यौटा गह्रामा आज कहिँ कसैले फलाएको छैन, अहिले अलि अलि अदुवा खेती थालिएको छ, त्यो पनि भारतीय व्यापारीले ट्रकमा हालेर लान्छन् र राता माटो मिसाएर हामीलाई नै प्याकेटमा बेच्छन्।'
सनातन धर्म र संस्कृतिले मानिसलाई आत्मनिर्भर बन्न सिकाएको बताउँदै उनले नेपालका नेताहरुले संस्कृति बिर्सेको आरोप समेत लगाए।
‘मैले त भनेको नेतालाई हाम्रो धर्म, संस्कार, संस्कृतिको रक्षा गर्दैनौ भने यो देश विश्वको जुवाको अड्डा नबनाऊ, अमेरिका, चीनलाई ठेक्कामा दिउँ कि त भारतलाई प्रान्त बना भनेर भनौं,' नेतृत्व वर्गप्रति आक्रामक बन्दै उनले भने, ‘आफ्नो संस्कार र संस्कृति पनि रहँदैन अनि अर्काको भरोसामा बाँच्ने हो भने यी जुवाडेलाई किन भन्सार तिरि तिरि खुवाउने? पाँच लाखको गाडीलाई साठी लाख दिनुपर्छ, बदलामा न बाटो छ, न सुरक्षा।'
नेपालीको मेहेनत नगर्ने बानी र नेताहरुको असक्षमताका कारण देश विकास नभएको आरोप लगाए। ‘नाथे घरमा जलाउनका लागि दाउरा र पकाउनका लागि भात पनि छैन, त्यती पनि आर्जन गर्दैनन्,' उनले भने, ‘रात दिन बसेर भारतबाट आएको रक्सी र मासु खान्छन्, पैसा जती भारत सप्लाइ गर्छन्।'
उनले सबै नेपालीले राष्ट्र, राष्ट्रियता र स्वधर्म बोध गर्न जरुरी रहेको बताए।
‘१५ करोड मानिसलाई पाल्न सक्ने क्षमता नेपालको माटोमा छ,' विश्वलाई नेपाल एक्लैले अर्ग्यानिक खानेकुरा दिन सक्ने बताउँदै भने, ‘यहाँबाट मुला उखालेर ताजाको ताजा अमेरिका पठाउन सक्छौं, चाहने हो भने के हुँदैन?'
उनले नाकाबन्दीबाट पाठ सिकेर आत्मनिर्भरताको बाटो खोज्न सल्लाह दिए। पेट्रोल संकट समाधानका लागि विद्युतीय बसलाई प्राथमिकता दिनुपर्ने बताए। ठाउँ ठाउँमा केबलतार बनाउने र सोलार तथा बेट्रीबाट चल्ने रिक्सा चलाउनुपर्ने उनको तर्क छ। ‘एक साताको नाकाबन्दी भोलिपल्ट बिर्सिहाल्छौं, हामी विश्वलाई कटन दिन सक्छौं। तर कसैले एक किलो उमारेको छैन, यो सचेतनामा लाग्नुपर्यो।'
नाकाबन्दी : हिन्दू राष्ट्र नबनाएको फल
अर्को एक प्रसंगमा उनले नेपाललाई हिन्दू राष्ट्र नबनाएकोले नाकाबन्दी लगाइएको उनले बताएका छन्। ‘मोदीले नेपाल देव भूमी भएकोले आफूले भरपुर सहयोग गर्ने भनेका थिए,' नेपालका साथै भारतका नेता तथा कलाकारहरुसँग राम्रो सम्बन्ध बनाएका महाराजले भने, ‘हिन्दू राष्ट्र नमास्न भन्दा भन्दै नेताहरुले मासे।'
उनका अनुसार नेपालको तत्कालको माग चीनले धान्न नसक्ने ठोकुवा गरे। चीनसँग नेपालको भाषा, संस्कार, संस्कृती नमिल्ने र नेपालको अनुकुलताको खाद्य पनि नआउने बताए।
उनले नयाँ संविधानको प्रस्तावनामा नेपाललाई हिन्दूधर्म भनेर लेख्न आफूले पुरै प्रस्तावना नै लेखेर दिएको तर नेताहरुले धर्म निरपेक्षताको परिभाषा भित्र त्यसलाई मिलाएको बताउँदै त्यसलाई ‘आफ्नो संस्कृतीमाथिको मजाक'को रुपमा टिप्पणी गरे।
नाराजुलुस गलत
उनले धर्म रक्षाको लागि नारा जुलुस गर्ने वा आन्दोलन गर्ने तरीका गलत भएको बताएका छन्। नेपालमै पनि केही साधुहरु धर्म युद्ध हुने भन्दै हिन्दू राष्ट्रका लागि सडकमा ओर्लिएको सन्दर्भबारे उनको टिप्पणी छ, ‘धर्म रक्षा गर्नु छ भने जनतालाई पूर्वीय दर्शन, वैज्ञानिक प्रभाव, थोपरिएका कुरालाई रिफाइन गरेर जनतामा पुर्याउनु जरुरी छ, अनि मात्र जनताले बुझ्छ।'
आफ्नो संस्कार, संस्कृतिमा कट्टर रहेर अर्कोलाई साथ दिनु र अर्काको संस्कृतीको सम्मान गर्नु नै ‘सर्वे भवन्तु सुखिनः' को मुल मर्म भएको बताउँदै उनले भने, ‘भकुण्डो हुने चलन छ नेपालीको।' रावण र हिरण्यकश्यपुले संसारभर एकै संस्कृती लागु गर्न खोजेको बताउँदै उनले अहिले इशाइ र मुस्लिमको योजना पनि त्यही भएको बताए।
‘तर त्यो कहिल्यै पनि सृष्टिमा सम्भव छैन, भिन्न भिन्न राष्ट्र, संस्कृती, संस्कार, विधान, न्यायालय बन्नको एउटै मात्र कारण त्यहाँको भौगोलिक स्थिीतीअनुसार बनेको धर्म संस्कार र संस्कृतिले गर्दा हो,' उनले भने, ‘त्यसैले जनतामा स्वधर्म सम्बन्धि चेतना पुर्याउँदै अर्काको पनि धर्मको सम्मान गर्दै आफ्नै धर्मबाट माथि उठ्नुपर्छ।'
आयुर्वेदका ज्ञाता समेत रहेका महाराजले सुनसरीको चतरामा बनाउन लागेको आयुर्वेद विश्वविद्यालयको काम अन्तीम समयमा रोकिएको भन्दै असन्तुष्टी पोखेका छन्। ‘यो ठाउँमा आयुर्वेद विश्वविद्यालय, नभएपनि क्याम्पस सम्म बनाउन सकेकोे भए यहाँका धेरैले रोजगारी र पूर्वाधार विकासको सुविधा पाउँथे,' उनले भने, ‘तर एक तहसम्म काम अघि बढेर रोकिएको छ, देशलाई आत्मनिर्भर बनाउने काममा नेताहरु जिम्मेवार हुनुपर्यो।' कृष्णदासजी महाराज तिनै साधु हुन्, जसले जगतगुरु बालसन्त महाराजसँग मिलेर सुनसरीको चतरालाई उजाड बगरबाट धार्मिक तीर्थ स्थलमा परिणत गरेका छन्। नेपालकै अग्लो हनुमानको प्रतिमा स्थापित चतरामा दुई पटकसम्म कुम्भ लागिसकेको छ।