आफ्नै सिद्धान्त र आदर्श बिर्सदाको परिणाम निरन्तर क्रान्तिको यात्रा र हाम्रो तात्कालिक आन्दोलन

  • डा.बाबुराम भट्टराई
जनयुद्धपछिको पहिलो संविधानसभामा सबभन्दा ठूलो पार्टीको रुपमा आइसकेपछि सरकारको नेतृत्व गर्ने अवसर पनि पाएपछि हामीले ‘निरन्तर क्रान्तिको ’ सिद्धान्त बिर्सिएर क्रान्ति पूरा भइसक्यो, अब मिलीजुली खाने हो भन्नेतिर हामी लाग्यौं ।
Baburam-Bhattarai
जो सरकारमा गयो र विभिन्न ओहोदामा पुग्नेहरुले पाएको बेलामा अलिकति लप्टाइहालौं भन्नेतिर लागे, सरकारमा नजाने र विभिन्न ओहोदामा नपुग्नेले अर्काले खायो मैले पाइनँ भनेर ठुस्केर बस्ने काम भयो । यसरी हामी आफैमा आफ्नै सिद्धान्त र आदर्श बिर्सेर क्रान्ति पूरा भएकोजस्तो जुन खालको दम्भ प्रदर्शन गर्न थाल्यौं, त्यसले पार्टीभित्र विवादहरु पैदा गरायो । र, पार्टीमा विभाजन आयो । पार्टी फूटको चुरो कारण भनेको निरन्तर क्रान्तिको सिद्धान्तलाई बिर्सनु हो ।
क्रान्ति साम्यवादसम्म नपुगेसम्म सिद्धिदैन । हामी यो बाटोमा सचेत ढंगले लागेको हो । मान्छेले मान्छेमाथि गर्ने सबैखाले शोषण, उत्पीडनको अन्त्य गरेर एउटा समतामूलक समाज निर्माण गर्ने अभियानको अभियन्ता हामी हौं ।
तसर्थ, यहाँ बुझ्न के जरुरी छ भने शान्ति प्रक्रियामा हामी आएको भए पनि क्रान्ति सिद्धिएको छैन, साम्यवादसम्म नपुगेसम्म क्रान्ति जारी राख्नुपर्दछ । हिजोको क्रान्तिबाट प्राप्त उपलब्धिहरु गुम्ने अहिले गम्भीर खतराहरु पैदा भइराखेको छ, त्यसलाई जोगाएर निरन्तर अगाडि बढ्नका निम्ति तयार रहनै पर्दछ । अहिले हामीले गरिराखेको संघर्ष पनि निरन्तर क्रान्तिकै एउटा कडी हो ।
 हामी आफैमा आफ्नै सिद्धान्त र आदर्श बिर्सेर क्रान्ति पूरा भएकोजस्तो जुन खालको दम्भ प्रदर्शन गर्न थाल्यौं, त्यसले पार्टीभित्र विवादहरु पैदा गरायो । र, पार्टीमा विभाजन आयो । पार्टी फूटको चुरो कारण भनेको निरन्तर क्रान्तिको सिद्धान्तलाई बिर्सनु हो ।
क्रान्ति सिद्धिएको छैन, केवल रुप वा बाटो फेरिएको मात्र हो । हामी निरन्तर क्रान्तिका यात्रीहरु हौं । क्रान्ति सम्पन्न नभएसम्म आजीवन हामी त्यसमा लाग्छौं । छोराछोरी, नातीनातीना, पुस्तौपुस्ता यही बाटोमा लाग्छन्, लागिरहन्छन् । यो अठोट र संकल्प सबै क्रान्तिकारीहरुले गर्न जरुरी छ ।
पहिलो चरणको आन्दोलन
अहिले पुराना संसदवादी शक्तिहरु जो हिजोको राजतन्त्रविरुद्धको संघर्षमा केही समय हामीसँग मिलेका थिए, राजतन्त्र गइसकेपछि उनीहरु फेरि पुरानै बाटोतिर फर्किएर विगतमा भएका सहमति सम्झौता तोड्दै छन् र संविधानसभाबाट संविधान नबनाउने तर त्यसको दोष हामीमाथि थोपर्ने योजनामा छन् । वृहत् शान्तिसम्झौता अनुसार सत्य निरुपण तथा वेपत्ता छानविन आयोग बनाउने र हिजोका द्वन्द्वकालीन मुद्दाहरुलाई निरुपण गर्ने जुन सहमति भएको थियो, त्यो कार्यान्वयन गर, सहिद, वेपत्ता परिवार र घाइते योद्धाहरुलाई राहतको व्यवस्था गर भन्ने विषयमा केन्द्रित रहेर अहिले हामीले संघर्ष सुरु गरेका छौं ।
संघर्षको पहिलो चरण हाम्रो खबरदारी अभियान थियो । त्यसन्तर्गत हामीले काठमाडौंमा विशाल प्रदर्शन ग¥यौं, त्यसले के देखायो भने माओवादीहरु सिद्धिए, टुटफुट र विभाजन भएर खत्तम भइसके भन्नेहरुलाई खबरदारी गर्न, आन्तरिक पार्टीपंक्तिको मनोवल उकास्न र अन्तर्राष्ट्रिय समुदायलाई माओवादी भन्ने चिज कहिल्यै सिद्धिने जात होइन, यो त रक्तबीज हो भन्ने सन्देश दिन सफल भएको छ । यसरी आन्दोलनको पहिलो चरण मूल रुपमा सफल भयो ।
विगतका सहमति
हाम्रो आन्दोलनको तात्कालिक लक्ष्य भनेको तुरुन्तै सशस्त्र विद्रोह गरेर सत्ता हत्याएर क्रान्ति पूरा गर्ने होइन । अहिलेको लक्ष्य भनेको जनपरिचालन गरेर विगतमा भएका सहमति कार्यान्वयन गराउन सत्तापक्षलाई बाध्य पार्ने गरी दबाब सिर्जना गर्नु हो ।
शक्तिप्रदर्शन बढाउने र राष्ट्रिय अन्तर्राष्ट्रिय समर्थन प्राप्त गरेर विगतमा सहमति भएनुकूल संविधानसभाबाट संविधान बनाउने हो । त्यसैका लागि हामीले यसबीचमा बार्ता र सहमतिका लागि जोड दियौं । तर फेरि पनि सत्तापक्षहरु गम्भीर रुपले वार्तामा आएनन् । हिजोकै जुन ढिपी थियो, त्यसबाट टसमस भएनन् ।
त्यसकारण हामी आन्दोलनको दोस्रो चरणमा प्रवेश गरेका हौं । यो आन्दोलनमार्फत् पनि एउटा सशक्त दबाब सिर्जना गरेर राष्ट्रिय र अन्तर्राष्ट्रय जनमतलाई अझ सशक्त बनाएर हिजोको सहमति र सम्झौतानुरुप संविधान बनाउन बाध्य पार्ने नै हो । हाम्रो घोषित लक्ष्य पूरा नभएसम्म हामी श्रृङ्खलाबद्ध संघर्ष अगाडि बढाउँछौं । यसको महत्वलाई विशेषरुपले बुझ्न जरुरी छ ।
दुष्प्रचार र यथार्थ
अहिले हाम्राविरुद्ध मिडियाहरुमा धेरै प्रचार हुने गरेको छ । सूचना प्रविधिको पछिल्लो प्रविधिलाई उनीहरुले हाम्रा विरुद्ध प्रयोग गरिराखेका छन्, जस्तो सामाजिक सञ्जाल, अनलाइन पत्रिका, टेलिभिजन, रेडियो र छापा मिडियामार्फत् । हिटलरको प्रचारमन्त्री गोयबल्सले भनेजस्तै झूठलाई सैयौं चोटी दोहो¥याएपछि सत्य हुन्छ भनेझै हाम्रा विरोधीहरुले यस्तै झूठको प्रचार अहिले गरिराखेका छन् । सञ्चार क्षेत्रको कथित क्रान्तिले ल्याएको ठूलो भ्रान्ती हो यो । यसबाट क्रान्तिकारीहरु भ्रमित हुनु हुँदैन, सतर्क र सजग रहन जरुरी छ ।
‘संविधान त बनिसकेको थियो, तर माओवादीले निहुँ खोजेर, उनीहरुमा दूरदृष्टि नभएर संविधान नबनेको हो ।’, ‘जातीय संघीयतामा गएपछि देश टुक्रन्छ, माओवादीहरुले जातीय संघीता चाहेका छन् ।’ आदि दुष्प्रचार गरेर हाम्रै पार्टीपंक्ति र जनतालाई भ्रमित पारिदिने काम गरेका छन् । तसर्थ, यहाँ स्पष्ट हुन के जरुरी छ भने संविधान हाम्रा कारणले नबनेको होइन । मुलुकमा संविधान नभएर हामीले एकथान संविधान बनाउन खोजकाहौं ? होइनौं । पद्म शम्शेरदेखि विरेन्द्र शाहको ०४७ संविधानसम्म ५ वटा संविधान त यसभन्दा अगाडि नै आइसकेका छन् । त्यसलाई खारेज गरेर हामीले अन्तरिम संविधान बनायौं ।
त्यो नेपालको छैठौं संविधान हो । संविधानसभाबाट बन्ने संविधान भनेको सातौं संविधान हो । क्रान्तिका अहिलेसम्मका उपलब्धिहरुलाई संस्थागत गरेर मुलुकलाई नयाँ युगतर्फ डो¥याउने संविधान खोजेका हौं हामीले । सातौ संविधानलाई त्यस्तो संविधान बनाउन खोजेका हौं ।
संसदबाट बन्ने ऐनजस्तो होइन संविधान । संविधानजस्तो विषयमा यसरी मोलाइजा गरेर जता पायो, त्यतै सम्झौता गरेर पुरानै ढंगको ०४७ सालकै संविधानमा सहमति जनाउने भन्ने कुरा कदापि हुन सक्दैन ।
त्यस्तो संविधान होस्, जहाँ यहाँका उत्पीडित वर्ग–मजदूर, किसानहरु, उत्पीडित जाति– आदिवासी जनजाति, मधेसीहरु, उत्पीडित क्षेत्र– हिमाली, कर्णाली र महाकालीहरु, उत्पीडित लिङ्– महिला, तेस्रो लिङ्गीहरु, र, दलित र मुश्लीमहरु सबैको अधिकार सुनिश्चित हुने गरी समावेशी, समानुपातिक लोकतन्त्र स्थापित र संस्थागत हुन सकोस् । उत्पीडित जाती र क्षेत्रहरुको पहिचानसहितको संघीयता बनोस् । हामीले खोजेको नयाँ लोकतन्त्र भनेको यही हो । यो नै संविधानसभाबाट बन्ने संविधानको अन्तर्वस्तु हुनु पर्दछ । मात्र एक थान संविधान अहिलेको आवश्यकता होइन ।
संविधानको मूल अन्तर्वस्तु भनेको संविधानको प्राण हो, पहिचान हो । संविधान भनेको राज्यको चरित्र कस्तो हुने भन्ने कुरा हो । संसदबाट बन्ने ऐनजस्तो होइन संविधान । संविधानजस्तो विषयमा यसरी मोलाइजा गरेर जता पायो, त्यतै सम्झौता गरेर पुरानै ढंगको ०४७ सालकै संविधानमा सहमति जनाउने भन्ने कुरा कदापि हुन सक्दैन । संविधानसभाबाट बन्ने संविधानले जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन, आदिवासी–जनजाति आन्दोलन, थरुहट आन्दोलनका समग्र उपलब्धिहरुलाई संस्थागत गर्ने गरी समावेशी, समानुपातिक लोकतन्त्रको संविधान बनोस् भन्ने हाम्रो चाहना हो । यसै विषयमा हामीले अडान लिइरहेका छौं ।
विवादको चुरो
अहिले सहमति अड्केको मुख्यतः दुईवटा कुरामा हो । ३० दलको तर्फबाट हामीले नौं बुँदै प्रस्ताव अगाडि सारेका छौं । तीमध्ये दुईवटा संघीय ढाँचा र निर्वाचन प्रणालीमा सहमति अड्की राखेको छ ।संघीयताको विषयमा उत्पीडनमा परेका जाति, भाषा र क्षेत्रहरुलाई आफ्नो अधिकारसम्पन्न स्वायत्त प्रदेश दिनेगरी संघीय ढाँचा बनाइनु पर्दछ भन्ने हाम्रो भनाइ हो ।
नेपालमा जुन जातीय, भाषिक र क्षेत्रीय विविधतालाई आधार बनाएर संघीयतामा जानुको विकल्पै छैन । विविधताभित्र यहाँ धेरै असमानता पनि छ । पहाडीया खस आर्य जाति, जसको जनसंख्या एकतिहाइ छ । अढाईसय वर्षदेखि त्यो जाति शासनसत्तामा रहँदै आएको छ । ८० प्रतिशत देशको साधान स्रातमा त्यो एकतिहाइ जातिको बर्चस्व रहँदै आएको छ ।
अर्कोतिर, जसलाई तिब्बती बर्मेली परिवार भन्छौं अर्थात् आदिवासी जनजाति भन्ने र्छौं, उनीहरुको जनसंख्या पनि करिब एकतिहाई छ । तर राज्यसत्तामा उनीहरुको १० प्रतिशतभन्दा बढी सहभागिता छैन । र, अर्को एकतिहाइ जनसंख्या, जसलाई हामी तराई मैदानी भूभागमा बस्ने मधेशी भन्छौं, उनीहरुको पनि राज्यसत्तामा करिब २० प्रतिशतभन्दा बढी सहभागिता छैन । त्यसैले, एउटा एकतिहाइले चाहिं ८० प्रतिशत ओगट्ने, दुईतिहाइले चाहिं १५÷२० प्रतिशतमा सीमित हुनुपर्ने ? यो अन्यायपूर्ण भयो । त्यसैले राज्यको पुनर्संरचना गर्न आवश्यक ठानिएको हो । संघीयताको आवश्यकता र औचित्यतालाई निरन्तर स्मरण गरिराख्न जरुरी छ । उल्लेखित ढंगले राज्यको पुनर्संरचना भएन भने अब बन्ने संविधानले पनि त्यही एकतिहाइ, जुन शासक जाति हो, कै हातमा सत्ता रहन्छ र दुईतिहाइ जनसंख्या राज्यसत्ताबाट बञ्चित हुनजान्छ ।
त्यसले देशमा शान्ति र सुव्यवस्था ल्याउँदैन । आर्थिक विकास र सम्पन्नता पनि आउँदैन । त्यसैले, हामी संघीयतामा जानु परेको हो । संघीयताको अर्थ सबै अलग जाति भाषाहरुको अलग राज्य वा प्रदेश भनेका होइन । पहिलो संविधानसभा अन्तर्गत राज्य पुनर्संरचना समिति र राज्य पुनर्संरचना आयोगले तय गरेका पहिचानका पाँच आधार, सामथ्र्यका चार आधार र जसको भाषिक र जनसंख्या एकप्रतिशतभन्दा बढी छ, उसलाई छुट्टै स्वायत्त प्रदेश दिन सकिन्छ । र, अरुको हकमा विशेष स्वायत्त क्षेत्र निमाण गर्ने, स्वायत्त इलाका, स्वायत्तहरु दिन सकिन्छ भन्ने मापदण्ड तयार पारेको थियो । यसैलाई आधार मानेर बन्न आउने प्रदेश भनेको नौं वा दश प्रदेश हो ।
अहिलेको अडान हाम्रो यसैमा हो । तर कांग्रेस एमाले त्यो आधार मान्न तयार छैनन् । उनीहरु संघीयताको नाममा कथित पुरानै हिसाबले विभाजन गर्न खोजेका छन्, मुख्य मतभिन्नता त्यसैकारण उत्पन्न भएको हो । त्यसैले, आन्दोलनको दबाब अझ बढाएर विगतको सहमति कार्यान्वयनका लागि कांग्रेस एमालेलाई बाध्य पार्नु परेको हो ।  -कुराकानीमा आधारित
यो पनि पढ्नुहोस्
Previous
Next Post »