ओर्लियो मुद्दतीको व्याजदर ८ प्रतिशतमा

११ भदौं, काठमाडौं । मुद्दती निक्षेपमा १२ देखि १४ प्रतिशतसम्म व्याज दर प्रस्ताव गरिरहेका बैंकहरुले व्याज दर घटाउन सुरु गरेका छन् ।
यसअघि लगानी योग्य पुँजी अभावको समस्या खेपिरहेका बैंकहरुमा पछिल्लो समय यो समस्या हटेपछि बैंकहरुले निक्षेपको व्याज दर घटाउन थालेका हुन् ।
समस्या कायम रहँदा साधारण बचतमा नै ६ देखि ८ प्रतिशतसम्म व्याज दर प्रस्ताव गरिरहेका बैंकहरुले अहिले मुद्दतीमा त्यो दर दिन थालेका छन् ।

अहिले मुद्दती निक्षेप राख्दा सबैभन्दा धेरै व्याजदर मेगा, जनता, सेञ्चुरी लगायतका बैंकहरुले दिइरहेका छन् । मेगा र सेञ्चुरी बैंकले मुद्दती निक्षेपमा १० प्रतिशतसम्म व्याज दर दिइरहेका छन् । सेञ्चुरी र जनता बैंकले बचतमा पनि ६ देखि ८ प्रतिशतसम्म व्याज दिइरहेको छ ।
यता, कुमारी, एभरेष्ट बैंकले मुद्दती निक्षेपमा अधिकत्तम ८ प्रतिशतसम्म व्याज दर प्रस्ताव गरेका छन् । नेपाल एसबीआई बैंकले अधिकत्तम ८.५० प्रतिशत र नबिल बैंकले ९ प्रतिशतसम्म व्याज दर प्रस्ताव गरेका छन् ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकले भने मुद्दती निक्षेपमा अधिकत्तम ७ प्रतिशतसम्म व्याज दर दिने भएको हो । साउन अन्त्यसम्ममा ८ देखि ११ प्रतिशत व्याज दर दिइरहेको बैंकहरुले यो दर घटाएका हुन् । अधिकांशमा मुद्दतीको व्याज दर ८ प्रतिशतमा रहेको छ । ८ प्रतिशत व्याज दर नै बजारमा हाल मुद्दती निक्षेपको लागि स्थापित व्याज दर भएको छ ।
सरकारी खर्च बढ्न थालेपछि र निक्षेपमा पनि सुधार हुन थालेपछि मुद्दती निक्षेपको व्याज दर घटेको हो ।
Previous
Next Post »