पुस २५, २०७२- एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले तराईमा उत्पन्न समस्या समाधानमा सबै पार्टीको ध्यान केन्द्रित भएको बताएका छन् ।
शनिबार दिउँसो दाङको टरिगाउँस्थित विमानस्थलमा तुलसीपुर उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै दाहालले मधेस आन्दोलनका सम्बन्धमा सत्ता पक्ष र प्रतिपक्षी दलहरु एक ठाउँमा रहेको बताए । मधेसका औचित्यपूर्ण माग सम्बोधनमा सबै दलहरु गम्भीर रहेको उल्लेख गर्दै दाहालले छिट्टै समस्या समाधान हुने विश्वास व्यक्त गरे ।
दाहालले टरिगाउँ विमानस्थल नियमित सञ्चालनका लागि आफूले पहल गर्ने आश्वासन दिए । पार्टीको प्रदेशस्तरीय प्रशिक्षणमा सहभागी हुन दाहाल दाङ आएका हुन् ।
घोराहीमा आयोजित प्रशिक्षणमा सहभागी हुन दाहाल उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेता लोकेन्द्र विष्टका साथ दाङ आएका हुन् । देशको नयाँ संरचना र केन्द्रीय कमिटी बैठकका निर्णयबारे प्रशिक्षण हुने एमाओवादी दाङका अध्यक्ष कुवेर ओलीले बताए ।
प्रशिक्षणमा ५ नं. प्रदेशका ११ जिल्लाबाट ७ सय बढी प्रतिनिधि सहभागी भएको उनले जानकारी दिए । आइतबार हुने क्रान्तिकारी पत्रकार संघको जिल्ला अधिवेशनलाई पनि दाहालले सम्बोधन गर्ने कार्यक्रम छ