पुस २५, २०७२- सप्तरी राजविराज- ६ का जितेन्द्रनारायण देवको हत्या भएको तीन महिना भइसक्दा पनि सुरक्षा निकायले घटनाको ठोस अनुसन्धान गरि दोषी पत्ता नलगाएको भन्दै भाई चन्द्रनारायणले राजधानीमा शनिबार पत्रकार सम्मेलन गरि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
उनले घटनाको तत्काल निस्पक्ष छानबिन गरी पीडित परिवारलाई क्षतिपुर्ति र सुरक्षाको ग्यारेन्टी प्रदान गर्न माग समेत गरेका छन् । उनको यो मागप्रति राजधानीमा क्रियाशिल विभिन्न संघ/संस्था तथा पेशाकर्मी गरी ३३ जनाले शनिबार विज्ञप्ति मार्फत् ऐक्यवद्धता जनाउँदै घटनाको सत्य तथ्य बाहिर ल्याउन र पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।
राजविराज–६ का ३० वर्षिय जितेन्द्रनारायणलाई असोज ३० गते वेपत्ता बनाई हत्या गरिएको परिवारको दाबी छ । उनको शब कात्तिक ३ गते सप्तरी बरहीविरपुर–८ स्थित कोशी नहरमा रक्ताम्य र विक्षिप्त अवस्थामा भेटिएको थियो ।