बाबुरामको 'नयाँ शक्ति'ले तोक्यो सातै प्रदेशमा इन्चार्ज

पाैडेललार्इ संगठन विभागको प्रमुखको जिम्मेवारी
नयाँ संविधानमा रहेको संघीयताको सीमाङ्कनमा असन्तुष्ट डा. बाबुराम भट्टराईले 'नयाँ शक्ति'का नेताहरुको कार्यविभाजन भने यही संरचना अनुसार नै गरेका छन्। शुक्रबार र शनिबार काठमाडौंमा बसेको नयाँ शक्ति नेपालको केन्द्रीय अन्तरिम परिषदको बैठकले प्रदेश नं. १ देखि ७ सम्मका संयोजकहरु तोकेको छ। 
 
बैठकका निर्णयहरु सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता खिमलाल देवकोटाले ५१ सदस्यीय सचिवालय गठन गरी सचिवालय सदस्यहरुको जिम्मेवारी बाँडफाँड गरिएको जानकारी दिए।  उनका अनुसार प्रदेश नं. १ मा राजेन्द्र किराँती, २मा रामचन्द्र झा, ३ मा वलावती शर्मा, ४मा देवेन्द्र पराजुली, ५ मा वामदेव क्षेत्री, ६मा भक्तबहादुर शाह तथा ७मा लिलादेवी भण्डारीलाई संयोजक तोकिएको छ। 
 
दुई दिनको बैठकले विभिन्न विभागहरुको संयोजक समेत चयन गरेको प्रवक्ता देवकोटाले जानकारी दिए।  डा. भट्टराईले राजनीतिक विभाग आफैंसँग राखेका छन् भने अर्को महत्वपूर्ण विभाग संगठन विभागको जिम्मेवारी पूर्व माओवादी नेता देवेन्द्र पौडेललाई दिएका छन्।   पौडेलकी श्रीमती वलावती शर्मालाई ३ नम्बर प्रदेशको संयोजक तोकिएको छ। यस्तै ४ नम्बर प्रदेशको संयोजक देवेन्द्र पराजुलीकी श्रीमती तथा पूर्वमन्त्री कल्पना धमलालाई महिला विभागको संयोजक तोकिएको छ। 
 
केहीसमय नेपाली काँग्रेसको राजनीति गरेर नयाँ शक्तिमा प्रवेश गरेका पूर्वअर्थ सचिव रामेश्वर खनालले आर्थिक तथा सुशासन विभागको जिम्मेवारी पाएका छन्। प्रशिक्षण विभागको जिम्मेवारी डम्बर खतिवडाले पाएका छन्। लामो समय एमालेको राजनीति गरेका खतिवडा एमालेमा रहँदा सुनसरीका जिल्ला स्तरिय नेता थिए। एमाले छोडेपछि उनी केहीसमय एमाओवादी नजिक देखिए पनि क्रियाशिल भएनन्। 
 
मुमाराम खनालले सूचना तथा सञ्चार विभागको जिम्मेवारी पाएका छन्। आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष पासाङ शेर्पाले सामाजिक अभियान विभाग पाएका छन्। शेर्पा सामाजिक लोकतान्त्रिक पार्टीबाट नयाँ शक्तिमा प्रवेश गरेका हुन्। 
अन्तराष्ट्रिय विभागको जिम्मेवारी भने पूर्वमाओवादी नेता नवराज सुवेदीले पाएका छन्।  सांस्कृतिक विभागको संयोजकमा चलचित्र निर्माता तथा अभिनेता अशोक शर्मा छन्।  पुर्वमाओवादी नेता गंगा श्रेष्ठले युवा तथा खेलकुद मन्त्रालय पाएका छन्। डा.भट्टराईले आफू प्रधानमन्त्री हुँदा महान्यायधिवक्तामा नियुक्त गरेका मुक्ति प्रधानलाई कानुन तथा मानवअधिकार विभागको संयोजक बनाएका छन्। 
 
हिसिला सहिद बेपत्ता परिवार र घाइते अपाङ्ग विभागको प्रमुख
 
यसअघि सार्वजनिक गरिएको नयाँ शक्तिको केन्द्रीय अन्तरिम परिषदमा डा.भट्टराई पत्नी तथा पूर्वमन्त्री हिसिला यमीको नाम समावेश गरिएको थिएन। तर दुई दिनको बैठकले उनलाई सचिवालय सदस्यमा चयन गर्दै सहिद बेपत्ता परिवार र घाइते अपाङ्ग विभागको जिम्मेवारी दिएको छ। 
 
तीन विभाग खाली
 
पार्टीको नीतिमा उल्लिखित ५ स मध्ये एक समानुपातिक/समावेशीमा निकै जोड दिइएको छ। तर ५१ जनाको  सचिवालयमा  दलित तथा अल्पसंख्यक विभाग नै खालि राखिएको छ। सम्बन्धित समुदायको प्रतिनिधित्व गर्ने दुर्गा सोबलाई गैरसरकारी संस्था समन्वय विभागको जिम्मेवारी दिइएको छ। ५१ जनामा उनी एक्ली दलित प्रतिनिधी हुन्। अल्पसंख्यक समुदायबाट सचिवालयमा प्रतिनिधित्व छैन।
 
पत्रकार सम्मेलनमा उपस्थित भए पनि यमी मञ्चमा बसिनन्। यस्तै, सदन, सरकार, राज्य  समन्वय विभाग तथा संघीय मामिला विभाग पनि खालि राखिएको छ। 
 
Previous
Next Post »