हाउसटन, चैत २४ (एजेन्स)– यदी तपाईं धेरै फेसबुक चलाउनुहुन्छ भने ख्याल गर्नुहोस् किनभने एउटा नयाँ अध्ययनले धेरै फेसबुक चलाउनेहरुलाई डिप्रेसन हुने खतरा रहने देखाएको छ । उक्त अध्ययनका अनुसार फेसबुकमा धेरै समय विताउनेहरुले आफ्नो जीवनसँग र फेसबुकमा रहेका आफ्ना साथीहरुको जीवन र उपलब्धीसँग तुलना गर्न थाल्छन् जसले गर्दा उनीहरु डिप्रेसनको सिकार बन्न पुग्छन् । अध्ययनकर्ताहरुले यसरी आफ्नो जीवनको सामाजिक तुलना गर्नेहरुमा डिप्रेसनको लक्षण देखिने बताएका छन् ।
हाउस्टन विश्व विद्यालयमा विद्यावारिधी गर्न लागेकी माई ली स्टीर्सका अनुसार उनले फेसबुकमा गरिने जीवनको सामाजिक तुलनाले मानिसको मानसिक स्वास्थ्यमा पार्ने असरबारे दुईवटा अध्ययन गरेकी थिइन् । ‘दुवै अध्ययनले फेसबुकमा आफ्नो जीवनको सामाजिक तुलना गर्नेहरु डिप्रेसनमा पर्ने गरेको देखाएको थियो,’ उनले भनिन् ।
स्टीरका अनुसार फेसबुक चलाउँदैमा कसैलाई डिप्रेसन नहुने तर लामो समय फेसबुक चलाउने र आफ्नो जीवनलाई अरुसँग तुलना गर्नेहरुमा भने डिप्रेसनका लक्षण देखापर्ने जानकारी दिइन् ।
पहिलो अध्ययनमा फेसबुक चलाउने समय र मानिसमा लिङ्गको आधारमा हुने प्रभावको बारेमा अध्ययन गरिएको थियो । दोस्रो अध्ययनमा भने जीवनको सामाजिक तुलना गर्नेहरु र फेसबुक चलाउने समयका आधारमा प्रभावको बारेमा अध्ययन गरिएको थियो ।
स्टीरका अनुसार भावनात्मक समस्या हुने मासिनहरुमा यस्तो लक्षण अझ बढी देखिने बताए ।
यो अध्ययन साइन्स एण्ड क्लिनिकल साइकोलोजी नामक जर्नलमा प्रकाशित गरिएको थियो ।