२१
पुस, काठमाडौं । क्याटलोनियाको राजनीतिक उतारचढावका बाछिटा लिओनल मेस्सीमा
पनि परेको छ । र, अर्जेन्टिनी खेलाडीले यदि क्याटलोनिया स्पेनबाट
स्वतन्त्र भयो भने बार्सिलोना फुटबल क्लब के हुन्छ भन्ने प्रष्ट हुन चाहेका
छन् ।त्यसैले उनले आफ्नो रिलिज क्लजमा नयाँ सर्त थप्न लगाएको स्पेनिस पत्रिका इएल मुन्डोले जनाएको छ ।
समाचारमा जनाइए अनुसार क्याटलोनिया स्वतन्त्र भएको अवस्थामा क्लब स्पेनिस, फ्रान्स, इंग्लिस वा जर्मन लिगमा रहे मात्र मेस्सी बार्सिलोनामै रहनेछन् । स्वभाविक रुपमा बार्सिलोनाका लागि ला लिगामै रहने विकल्प पनि हुनेछ ।
तर, युरोपियन फर्स्ट लिगमा क्लब नभएमा मेस्सीले फ्रिमा नै बार्सिलोना छाड्न सक्नेछन् । जबकी अहिले मेस्सीको रिलिज क्लज ७०० मिलियन छ ।
बार्साले मेस्सीलाई सूचित गरेको छ कि यदि क्याटलोनिया स्वतन्त्र भयो भने यो क्लब स्वतः स्वतन्त्र हुनेछ । क्लबले बुझेको छ, यो अवस्थामा उनको सम्झौतामा उलटफेर हुनसक्छ । र, परिणामस्वरुप मेस्सीले बार्सामै बस्नुपर्ने वाध्यता हट्नेछ ।
यसप्रकार, एउटा स्वतन्त्र राज्यमा रहने बार्साले यदि स्पेनिस लिगमा खेल्न जारी राख्यो वा जर्मन बुन्डेस लिगा, द इंग्लिस प्रिमियरसीप वा लिग १ गालामा सहभागी हुने सम्भावना रह्यो भने मेस्सी सोही क्लबमा रहनेछन् ।
त्यसो नभएको खण्डमा उनले तत्कालै क्लब छोड्न सक्नेछन् र त्यसका लागि उनले ७ सय मिलियन रिलिज क्लज पनि पालना गर्नुपर्ने छैन ।
फुटबलको इतिहासमा एउटा अत्यन्त महत्वपूर्ण सम्झौता गरेर मेस्सीलाई निरन्तरता दिन क्लब सहमत भएपछि मेस्सीले पनि क्लबप्रति आफ्नो प्रतिवद्धता दर्शाउन चाहेका छन् । एल मुन्डोले खुलासा गरेअनुसार क्लबले मेस्सीलाई अर्को सिजनभरीमा दिइसक्ने गरी १०० मिलियन ग्रस प्रिमियम तिर्नेछ । यो क्रिस्टियानो रोनाल्डोको भन्दा ७० प्रतिशत बढी हो ।